Breaking

बालेन–ओली भिडन्त, केशव स्थापितले सुरु गरेको टसल, एमाले कार्यकर्ताले रड हानेकै हुन् ?


काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै बालेन्द्र शाह केन्द्र सरकारदेखि प्रहरी, फुटपाथ व्यापारी, सुकुम्बासी सबैसँग भिडिरहेका छन् । तर, यी सबैसँग मौसमी टकराव मात्रै भए पनि एमालेसँगको नाता भने वर्ग शत्रुकै जस्तो देखिएको छ । मेयर बालेनको एमालेसँगको भने टसल निरन्तर चलिरहेको छ ।

स्थानीय तहको चुनाव ताकादेखि नै सुरु भएको नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीचको भिडन्त आजसम्म पनि टुङ्गिएको छैन । काठमाडौंमा बालेनको प्रतिष्पर्धी बनेका एमाले नेता केशव स्थापितले सुरु गरेको टसलले दुई वर्ष हुनै लाग्दा पनि अझै जारी छ । शिरदेखि पाउँसम्म पुरै ‘कालो रङ्ग’लाई नै आफ्नो पहिचान बनाएका मेयर बालेनको आँखामा चश्मासमेत कालै हुने हुँदा जनतासँग आँखा जुधाउन नसक्ने भन्दै उनलाई बाहिरै कालो र भित्र पनि कालै नियतको भनेर काठमाडौंको कोर क्षेत्रको खोजीमा नै रहेका एमाले नेता केशव स्थापितले आलोचना गरेका थिए । त्यस्तै बालेनले पनि आफ्नो चुनाव प्रचारप्रसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा निर्माण भएको धरहरालाई सेतो टावरको संज्ञा दिँदै गरेका थिए । बालेन र एमालेको जुहारी यतिमा मात्रै सीमित छैन ।

सुकुम्बासी बस्तीमा डोजर चल्दा पनि ओलीले ‘तमासा’ भन्दा ओलीलाई कटाक्ष गर्दै सुकुम्बासीलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गरेको आरोप लगाएका थिए । धरहरालाई सेतो टावरभन्दै ओलीमाथि व्यंग्य गरेका मेयर बालेनले धरहराको पहिलो तल्लामा निःशुल्क पार्किङको व्यवस्था गर्दासमेत एमाले र बालेनको टकराव देखियो ।

धरहराको सम्पूर्ण निर्माण नै नसकेको भन्दै सहरी विकास मन्त्रालयले पार्किङमा रोक लगाएपछि फेरि बालेनले निर्माण नै नसकी किन उद्घाटन गरेको भन्दै ओलीमाथि प्रश्न ते¥याए । अहिले फेरि फुटपाथ व्यापारी र महानगर प्रहरीबीच भएको झडपलाई मुद्दा बनाएर यी दुईबीच टसल चलेको छ । फुटपाथ व्यवसायी र महानगर प्रहरीको झडप एमालेले नै गराएको आरोप मेयर बालेनले लगाएका छन् । महानगर प्रहरीमाथि फलामे रडले आक्रमण गर्नेहरु फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ता भएको बालेनको दाबी छ । त्यस्तै एमालेले पनि महानगर प्रहरीले फुटपाथ व्यापारीमाथि क्रुरतापूर्वक बुट बजारेको आरोप लगाएको छ । गरिबले पनि बाच्न पाउने अधिकार रहेको भन्दै महानगरको ज्यादती बन्द गर्नुपर्ने आवाज एमालेले उठाइरहेको छ ।

शीर्षस्थ नेताको कमीकमजोरीलाई नै देखाएर महानगरको प्रमुख बनेका बालेनसँगै एमालेबाट नै प्रतिनिधित्व गरेर चुनाव जितेकी सुनीता डङ्गोल महानगरपालिकाको उपप्रमुख छिन् । तर, यी सबैमा मुद्दामा उनी तटस्थ जस्तै बनेकी छन् । उनी न त पार्टीतर्फ देखिएकी छन् न त मेयर बालेनको पक्षमा उभिएकी छन् । महानगरका विगतका प्रमुख र उपप्रमुखको संघर्ष सबैले देखिरहँदा उनको मौनता सबैलाई चकित पार्ने खालको छ । वसन्तपुर डबलीमा मेयर विद्यासुन्दर शाक्यले बनाएको कंक्रिट भत्काएको देखि रानीपोखरीमा उपमेयर हरिप्रभा खड्गीले ताला लगाउँदाको मतभेद सतहमै देखिएको थियो । पार्टीको विचार नमिल्दा हुने यस्तो संघर्ष बालेन र डङ्गोलको हकमा भने देखिएको छैन । बालेनले एमालेसँग नै जुहोरी खोज्नुलाई विज्ञहरू भने सामान्य ठान्छन् । सिंहदरबारबाट फोहोर नउठाएर केन्द्र सरकारसँग भिड्दाको परिणाम बालेनले भोगिसकेका छन् । त्यसैले आफू स्थापित हुनलाई पनि उनले बलियो प्रतिपक्षीसँग भिड्नु पर्ने जानकारको बुझाई छ ।

मेयर बालेन चुनावको अन्तिम मत परिणाम आउनु भन्दा पहिले नै ओलीलाई भेट्न बालकोट पुगेका थिए । आफूले मेयरमा जित्ने सुनिश्चित भएसँगै पहिलो राजनीतिज्ञसँगको भेट नै ओलीसँग गरेका थिए । त्यसको झण्डै डेढ महिनापछि दोस्रो भेट समेत गरेका बालेनलाई ओलीले तबला उपहार दिएका थिए । तर, वाद्यवादकले तबल बजाए झै अहिले एमालेलाई बालेनले पटकै पिच्छे बजाइरहेका छन् । नेपालमा तथ्य र तथ्यांकलाई लत्याएर तर्कमा नै हरेक विषयलाई राजनीतिकरण हुँदै आएको विगतको नजिर पनि थुप्रै छ । एक अर्कालाई आरोप–प्रत्यारोप लगाएर नै नंग्याउने परिपार्टी राजनीतिमा हुँदा यसको विरुद्ध स्वतन्त्र भनेर आएका नयाँ अनुहारमा पनि परेको देखिन्छ । अर्कालाई गलत देखाउन सत्तो सराप गर्नेे तर, वास्तविकता वा यथार्थ भने कसैले दिन नसक्दा विकल्प भनिएकाहरूको पनि विस्तारै असली चेहरा अघि आउन थालेको छ ।