Breaking

सत्ता समीकरणमा फेरबदलको संकेत देखिएपछि नेताहरुको दौडधुप


काठमाडौं । पेचिलो बनेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र नयाँ समीकरणको चर्चाले दलहरुको दौडधूप बढेको छ । आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे सहमति जुटाउन छलफल भएको भनिए पनि वान–टू–वान वार्तामा सत्ता समीकरण र भागबन्डाबारे छलफल भएको स्रोतको भनाइ छ । तर राजनीतिक रुपमा सहमति भइसकेको टीआरसी विधेयक टुंग्याउन कानुनमन्त्री धनराज गुरुङले समय मागेपछि प्रधानमन्त्री प्रचण्ड झस्किनुभएको छ ।

लगत्तै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति देउवाले बुढानीलकण्ठमा बहालवाला मन्त्रीसहित पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । यस्तै एमालेले पनि सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

माओवादी केन्द्रले पनि बालुवाटारमा उपमहासचिव वर्षमान पुन लगायतका नेताहरुसँग छलफल गरेको छ । एक्कासी बढेको दलहरुको दौडधुपले सत्ता फेरबदलको सम्भावना बलियो बन्न थालेको विश्लेषण राजनीतिक वृतमा हुन थालेको छ ।