Breaking

शालिन पोखरेल घटनाको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि नभएको, झुण्डिएर आत्महत्या


काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्टमा बलात्कार पुष्टि नभएको र झुण्डीएर आत्महत्या गरेको आएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् ।

पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन । पीडितको तर्फका अधिवक्ता युवराज सफलले प्रहरीले आधिकारिक रूपमा आफूहरुलाई पोस्टमार्टम रिपोर्ट दिई नसकेको बताए ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ ।