खेलकुद

जितसँगै नेपाल फाइनलमा, रोहित र गुल्सन चम्किए, बन्यो राष्ट्रिय किर्तिमान,अबको भिडन्त कोसँग ?(भिडियोसहित)


काठमाडौँ— खुशी हुने माध्यम बन्दै आएको क्रिकेटमा नेपाली टोली फेरि एक पटक फाइनलमा प्रवेश गरेको छ । जारी त्रिदेशीय टी–२० क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा नै निरन्तर हारको सामना गरिरहनु परेको नेपाली क्रिकेटले पछिल्लो दुई खेलमा भने लगातर जित निकाल्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ । नेपाल, नामेबयिा र नेदरल्याण्ड्स सम्मिलित जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले शनिबार त्रिवि मैदानमा नेदरल्याण्ड्सलाई छ विकेटले हराउँदै फाइनलको टिकट पक्का गरेको हो ।

फाइनलमा पुगिसकेको नेपालले अब आइतबार हुने लिग चरणको अन्तिम खेल नेदरल्याण्ड्स र नामेबियामध्ये एकसँग खेल्ने छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभर खेल्दै सबै विकेटको क्षतिमा १२१ रनको चुनौती दिएको थियो । जबाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभर खेल्दै चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । ओपनरद्वय कुशल भुर्तेलले १२ र आसिफ शेखले आठ रन बनाउँदा दुवै एकै ओभरमा पभेलियन फर्केपछि नेपाल केहि समस्यामा परेको थियो । त्यसपछि आएका कप्तान रोहित कुमार पौडेल र गुलशन झाले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । गुलशनले ३६ बलमा दुई चौका र एक छक्काको मद्दतले ३८ रनको योगदान दिए भने तीन चौका र एक छक्का प्रहार गरेका कप्तान रोहितले पनि ३३ बलमा ४६ रन जोडे । गुलशन १३.४ ओभरमा आर्यन दत्तबाट बोल्ड हुँदा १४ औं ओभरको तेस्रो बलमा किंग्माले रोहितलाई आउट गराए । त्यसपछि आएका दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले अभिजित क्रमशः चार र दुई रन बनाएका थिए ।

त्यस्तै नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न युवा बलर प्रतिश जिसीले ३ विकेट लिँदा करण केसी र कुशल मल्लले समान २÷२ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए । नेदरल्याण्ड्सका म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र कप्तान स्कट एडवाड्र्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यस खेलमा राष्ट्रिय कीर्तिमान पनि बनेको छ । अल राउण्डर दिपेन्द्रसिंह ऐरीले सर्वाधिक क्याच आउट गर्ने खेलाडीको रूपमा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाएको हो । जारी श्रृङ्खलाको अंक तालिका पनि निक्कै रोचक र प्रतिष्पर्धात्मक देखिएको छ । सबै चार खेल खेलेको नेपाल दुई जितका साथ चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा तीन खेल खेलको नेदरल्याण्ड्स दुई जितका साथ ४ अंक बनाएर पहिलो स्थानमा छ भने समान तीनमध्ये एक खेल जितेको नामेबिया दुई अंक बनाएर पुछारमा छ । क्रमशः ०.३१० र ०.२९३, धनात्मक रनरेट सहित नेदरल्याण्ड्स र नेपाल पहिलो र दोस्रो स्थानमा रहेका हुन् भने ऋणात्मक रनरेट ०.७०० सहित नामेबिया तालिकाको अन्तिममा पुगेको हो । यो अवस्थामा आइतबार नेदरल्यान्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये एक टोलीले मात्रै नेपाललाई रनरेटमा पछि पार्नसक्ने हुँदा नेटरनरेटमा माथि रहने टोलीले नेपाल र उक्त राष्ट्र फाइनल खेल्ने पक्का भएको हो ।