Breaking

नेपालले नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गर्दै


काठमाडौँ – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँग टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । कुशल भुर्तेल आज खेल्दैछन् । अनिल शाह आजको खेलमा बाहिर छन् । नेपालले टोलीमा अन्य कुनै परिवर्तन गरेको छैन ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।
आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । दीपेन्द्रले ६३ रनको इनिङ खेलेपनि जिताउन सकेका थिएनन् । अन्तिम ओभरमा १५ रन चाहिँदा सुरुवाती दुई बलमा चौका र छक्का हानेपनि त्यसपछि असफल भएका थिए । दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । बलिङमा पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन् ।