Breaking

सहमतिबमोजिम काम नगरेको भन्दै सडकमा आउने सहकारी पीडितहरुको तयारी


काठमाडौँ— सरकारले आफूहरुसँग गरेको सहमतिबमोजिम काम नगरेको भन्दै देशभरका सहकारी पीडित फेरि सडकमा आउने भएका छन् ।

सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले चैत १ गतेदेखि सडक आन्दोलन गर्ने तयारी भइरहेको बताए । त्यसका लागि अहिले महासंघले काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा घरदैलो कार्यक्रम पनि गरिरहेको छ ।

‘सरकारले चैत मसान्तसम्म सबै पीडितको पैसा फिर्ता हुने वातावरण मिलाइदिने भन्ने मन्त्रीजी (भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ)ले नै बोल्नुभएको हो’, महासंघका अध्यक्ष केसीले भने, ‘तर हामीले आश्वासनमात्रै पायौं, आधार नपाएपछि सडकमा आउन बाध्य भएका हौं ।’

केसीले अबको आन्दोलन ‘निर्णायक’ हुने भएकाले माग पूरा नभएसम्म घर नफर्किने जानकारी दिए । ‘त्यो दिन विभिन्न ५ वटा प्वाइन्ट तोकेर शान्तिपूर्ण पैदलयात्रा गर्दैछौं । सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर हाम्रो कोण सभा हुन्छ’, उनले भने, ‘त्यसबेला प्रधानमन्त्री नै आएर हाम्रो माग सम्बोन गर्नपर्छ, नत्र घर फर्किँदैनौं ।’

देशभरका सहकारी पीडितका प्रतिनिधि १३ दिनदेखि सहकारी विभागमा आफ्नो धर्ना पनि जारी राखेका छन् । सहकारीहरुले आफूहरुको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको सरकारलाई दबाब दिन धर्ना बस्नुपरेको गोपाल त्रिपाठीले सुनाए ।

यसअघि देशभरका सहकारी पीडितहरु हजारौंको संख्यामा उपस्थित भएर काठमाडौंमा २ महिना लामो आन्दोलन गरेका थिए । आन्दोलनको ६३औं दिनमा साउन १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायत सरकारका प्रतिनिधिसँग ७ बुँदे सहमति गर्दै सहकारी पीडितले आन्दोलन स्थगन गरेका थिए ।