Breaking

ओली–प्रचण्ड मिलन रोक्न देउवाले खटाए माधव, सिटौला अध्यक्ष छोड्न तयार, जनयुद्ध र धर्म बाधक


काठमाडौँ – राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र कांग्रेसको दोहोरो दाबीले गठबन्धन नै धरापमा परेको विश्लेषण भइरहेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको बढ्दो हिमचिमले पनि पुष्टि गर्छ । यस्तो अवस्थामा मुखैमा आएको प्रधानमन्त्री जोगाइ राख्न कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीति के हुन्छ ? सबैको चासोको विषय बनेको छ ।

नेपाली कांग्रेसले कम्युनिस्ट नबोक्ने प्रस्ताव लगेपछि प्रचण्डलाई बेचैन बनाएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले आफैँ बेचैनी मुद्रामा छन् । त्यसको एकमात्र कारण हो–प्रचण्डले फालेको एमाले कार्ड । निकटमै रहेको राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनले माओवादी–कांग्रेस सम्बन्धमा दरार देखिने स्पष्ट संकेत गरिरहेको छ । पहिले नै कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष दिने सहमति भए पनि माओवादीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि कांग्रेस झस्किएको छ । त्यसको कारण पनि एमाले–माओवादी मिल्ने भय नै हो । कांग्रेसको महासमिति बैठकमा गठबन्धनको कुरा चलिरहेकै बेला प्रचण्ड र एमाले अध्यक्ष ओली भेटेको तस्बिर सार्वजनिक भएको थियो । त्यतिमात्र नभई कांग्रेसले पटक–पटक माओवादीलाई दिएको धोका र मन्त्री फेर्नसमेत देउवाले नमानिरहेको अवस्थामा माओवादीले दबाब बढाएको देखिन्छ ।

त्यसमाथि राष्ट्रिय सभा अध्यक्ष आफैँले लिने माओवादीको निर्णयलाई कांग्रेससँगको दूरी बढाउने कारकका रुपमा हेरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको निमन्त्रणामा शुक्रबार चितवनमा फेरि प्रचण्ड र ओली एकै मञ्चमा देखिँदै छन् । यसले पनि प्रचण्डको एमाले कार्डलाई बलियो देखाउन मद्दत गर्नेछ । अध्यक्षमा दुबै पार्टीको कडा दाबेदारी रहनु, गठबन्धन भत्काउने एमालेको एकपछि अर्को प्रयास तथा कांग्रेसभित्रै सरकारविरुद्धको चर्को आवाज र माओवादीमाथि कांग्रेसको धोकाधडीको चर्को आवाजका बीच ओली–प्रचण्डको बाक्लिँदो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


कांग्रेसकै कारण माओवादीले राष्ट्रिय सभाको एक सदस्यसहित कोशी प्रदेशको सभामुख र मुख्यमन्त्रीसमेत गुमाइसकेको छ । यसबीचमा प्रचण्डमाथि पदाधिकारीहरुले दबाब बढाउँदा माओवादी राष्ट्रिय सभा अध्यक्ष छाड्ने मूडमा छैन । त्यही कारण नेताहरुले कांग्रेससँगको सहकार्यको विषयमा सोच्न प्रचण्डमाथि दबाब बढाउँदा कांग्रेस सभापति देउवाको मथिँगल हल्लिने अवस्थामा पुगेको छ । महासमिति बैठकमा महामन्त्री गगन थापाले गठबन्धन नगर्ने प्रस्ताव लैजाँदा देउवालाई ढुक्क हुन प्रचण्डले वचन दिए पनि व्यवहारले ढुक्क हुने अवस्थामा देउवा छैनन् । कांग्रेसले पनि आन्तिरिक रुपमा माओवादीमाथि पटक–पटक धोका भएको सत्य स्वीकारेकाले त्यो धोकाको क्षतिपूर्ति माओवादीले खोजे राष्ट्रिय सभाको अध्यक्ष दिने मूडमा कांग्रेस पुगेको छ । त्यसमाथि राष्ट्रिय सभाको अध्यक्षकै कारण गठबन्धन फुट्ने अवस्था आए आफू रित्तो हुने बुझेका सिटौला पनि सम्झौताका लागि तयार देखिएका छन् । माओवादीको निर्णयपछि देउवा र सिटौलाको भेट भएको थियो ।

जसमा मुखैमा आएको प्रधानमन्त्री नगुमाउन र आफ्नो व्यवस्थापन राष्ट्रिय सभा बाहेक अन्तै गरे पनि हुने जवाफ सिटौलाले दिइसकेका छन् । अर्थात मालदार मन्त्रालयको नेतृत्व गर्ने अभिलाशा सिटौलामा छ । लगत्तै गठबन्धनमा तलमाथि नहोस भन्नकै लागि माधव नेपाललाई पनि भेटेर कांग्रेस नेताहरुले कन्भिन्स गराएका छन् । किन भने यो गठबन्धन बनाउने मूल शुत्रधारमध्ये एक नेपाल पनि हुन् । बुढानीलकण्ठको आग्रहसँगै माधव चितवनमा हुने प्रचण्ड–ओलीको हिमचिम रोक्न भूमिका खेल्न थालेका छन् । केही दिनअघि मात्रै ओली र प्रचण्ड मिल्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका उनले चितवन पुगेर राष्ट्रिय सभाको भागबन्डा सहजै टुंगो लाग्ने र अहिलेकै गठबन्धन कायम रहने अभिव्यक्ति दिए ।

तेस्रो दल माओवादीले प्रधानमन्त्री पाउनु नै ठूलो उपलब्धि भएकाले प्रचण्डको फाइदाकै लागि पनि राष्ट्रिय सभा अध्यक्षमा सिटौलाको आवश्यकता रहेको कांग्रेस नेताहरु पनि बताउँछन् ।

कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष छाड्दैमा गठबन्धनको संकट समाधान हुने भने देखिँदैन । किन भने माओवादीले कांग्रेस महासमितिमा प्रस्तुत प्रतिवेदनहरुमै असहमति जनाएको छ । हिन्दु धर्म सापेक्षताबारे बहस खडा गरेर कांग्रेस संविधानकै विरोधमा जाने सन्देश दिएकाले त्यस्ता क्रियाकलाप बन्द गर्न माओवादीले दबाब बढाइरहेको छ । त्यसमाथि प्रचण्डप्रति सकारात्मक रहेका भनिएका उपसभापति पूर्णबहादुर खड्काकै प्रतिवेदनमा ‘जनयुद्ध’ लाई हेर्ने नजर गलत भएको भन्दै माओवादीले निहुँ खोजिरहेको देखिन्छ । पूर्णबहादुरले लामो हिंसात्मक सशस्त्र द्वन्द्वले देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा द्रुत गतिमा हिँड्न नदिएको उल्लेख गरेका छन् । त्यसमाथि प्रचण्डले मन्त्री फेर्न चाहनु र त्यसको बाधक देउवा बन्नुुलाई पनि माओवादीलाई सैह्य लागेको छैन । प्रचण्डलाई बिच्किन नदिन कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पद छाडे मात्रै पनि तत्कालका लागि ओलीको हात रित्तो हुने र गठबन्धन जोगिने सम्भावना कायमै छ ।