समाचार

भरतपुर भ्रमण वर्षमा सबै पूर्वप्रधानमन्त्रीले बोल्ने


काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ ।

नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ ।

सत्ता गठवन्धनमा आवद्ध नेता र पूर्वप्रधानमन्त्री आउनुलाई स्वभाविक रुपमा हेरिए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत कार्यक्रममा सहभागी हुने विषयलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार साँझ नै चितवन आइसकेका छन् ।

सबैभन्दा पहिले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल चितवन आएका छन् । आज सोही पार्टीका सम्मानित नेता एवम झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी आउँदैछन् ।

यस्तैं, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिउँसो पौने १ बजे हेलिकोप्टरमा चितवन आउने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

ओली सोही हेलिकोप्टरमा मकवानपुरमा हुने अर्को एक कार्यक्रममा पनि सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम तय भएको न्यौपानेले जानकारी दिए ।भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं। २ का सांसद रवि लामिछाने पनि चितवन आउँदैछन् । रास्वपाका एक नेता राजेन्द्र अर्यालले दिएको जानकारी अनुसार उनी दिउँसो १२।३० बजेको उडानबाट भरतपुर आउने कार्यक्रम तय भएको हो ।

कार्यक्रममा अर्को पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई निमन्त्रणा गरिएको भए पनि उनी पार्टीको कामको व्यस्तताले आउन नसकेको महानगरपालिकाले जनाएको छ । उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार पूर्वप्रधानमन्त्री, रास्वपाका सभापतिलाई १०र१० मिनेट र प्रधानमन्त्री प्रचण्डलाई १५ मिनेट शुभकामना मन्तव्यका लागि लागि समय छुट्टाइएको छ ।

समारोहमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुने भए पनि बामगती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेललाई मात्रै शुभकामना दिन लगाइने छ । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि कार्यक्रममा शुभकामना दिनेछन् ।

बिहान ११ बजेदेखि १२।३० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।

उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।