Breaking

फेरि अभागी नेपाल, पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता


काठमाडौँ – नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो ।
जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्‍यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए । प्रतियोगिताकै सर्वाधिक ९ गोल गरेकी सावित्रा नहुँदा नेपाली टिममा पनि त्यसको असर देखियो ।

केही समयअघि मात्रै फ्रेन्च क्लब इए गुइगाम्पमा अनुबन्ध हादै फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलकरो इतिहास बनाएकी सावित्राले नेपाललाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले समूह चरणमा इराक विरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म ४ खेल खेलेकी सावित्राले ९ गोल गरिसकेकी छन् र उनी सर्वाधिक गोलकर्तामा शीर्षमा छन् ।

सावित्रा नहुँदा नेपाली टोलीको कम्बिनेसन कस्तो होलारु कसरी खेल्ला, उनको स्थान कसले लेला भनेर धेरै कौतुहलता थियो । तर सावित्रा नहुँदा टिममा पहिलो रोजाईँमा अवसर पाएका अन्य खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन र फेरि फाइनलमा पराजित भयो ।

पहिलो रोजाईँमा खेलेकी सविताले आफूलाई प्रमाणित गर्दै २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको क्रस जोर्डनी खेलाडीले रोक्ने प्रयास गरेपनि सफल नहुँदा बक्स बाहिर सविता बल पाइन् र त्यसमा उनले सिधा प्रहार गर्दा जोर्डनी खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।

७३औं मिनेटमा लाना फेरासले जोर्डनको लागि बराबरी गोल गरिन् । ७५औं मिनेटमा जोर्डनले अर्को गोल गरेपनि सहायक रेफ्रीले अफसाइड झण्डा उठाएपछि नेपालको संकट टरेको थियो ।

८९औं मिनेटमा साराह अबु शाबाहले गोल गरेपछि जोर्डनले २(१ को अग्रता लियो । र जोर्डन जित नजिक पगेको थियो । तर इन्जुरी टाइमको पहिलो मिनेटमा जोर्डनी खेलाडीले बक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पायो । त्यसमा गीता रानाले गोल गर्दै खेल २(२ को बराबरीमा पुर्‍याइन् ।

९० मिनेटपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । निर्धारित समयमा कडा फाइट गरेपनि पेनाल्टीसुटआउटमा नेपालले पराजित भयो । नेपालल महिला फुटबलमा फाइनलमा पराजित भएको यो ११औं पटक हो