Breaking

दूधको मूल्य माग्दै आन्दोलनमा उत्रिएका रूपन्देहीका किसानमाथि प्रहरीको लछारपछार


काठमाडौँ – दूधको उचित मूल्य माग्दै रूपन्देहीका दुग्ध उत्पादक किसानहरूले सडकमा प्रदर्शन गरेका छन्।

बुटवलको राजमार्ग चौराहमा चक्काजाम गर्दै आन्दोलनमा उत्रिएका किसानहरूले कृषि मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

आफूहरूका समस्याप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरूले किसानका समस्या नबुझ्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

जिल्ला दुग्ध उत्पादक संघ रूपन्देहीको आयोजनामा सहकारीमा आबद्ध किसानहरू राजमार्ग चौराहामा जम्मा भएर चक्काजाम सुरू गरेपछि प्रहरीले तितरवितर तुल्याएको थियो।

चक्काजाम हटाउने क्रममा सडकमा बसेका महिलाहरूलाई प्रहरीले लछारपछार गरेपछि प्रहरी र किसानबीच केहीबेर घम्साघम्सी भयो।

दुग्ध उत्पादक किसानहरूले देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन्। सोही क्रममा बिहीबार बुटवलमा दुई घन्टा चक्काजाम गर्ने कार्यक्रम पहिले नै तय गरेका थिए। पूर्वनिर्धारित भए पनि सडकमा प्रदर्शन गर्दै चक्काजाम गर्न तम्सिएका किसानहरूलाई प्रहरीले तितरवितर पारिदिएपछि चक्काजाम भने हुन पाएन।