राजनीति

माइतीघरमा महतो पुगेपछि निषेधित क्षेत्रमा झडप, प्रहरीलाई हम्मेहम्मे, आन्दोलनकारी जाई लागे (भिडियोसहित)


काठमाडौँ— गत मंसिरदेखि माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्र घोषणा गरिएको यस क्षेत्रमा थप दुई महिना लम्ब्याइएको छ । विभिन्न माग राख्दै दिनहुँ जसो माइतीघर तथा बानेश्वरमा विरोध प्रदर्शन भइरहेका हुन्छन् । तर निषेधित क्षेत्र उल्लंघनको आरोपमा कयौँ प्रदर्शनकारी पक्राउ पर्ने गरेका छन् । यही क्रममा बुधबार पूर्वमन्त्री राजेन्द्र महतो नेतृत्वको टोलीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ ।

प्रहरी र प्रर्दशनकारीबीचको यो घम्साघम्सी बुधवार काठमाडौको भद्रकालीको हो । निषेधित क्षेत्र तोड्न खोज्दा पूर्वमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता–कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको छ । दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न पुगेका उनीहरूलाई सिंहदरबारको मूल गेटअगाडि भद्रकाली मन्दिर परिसरमा प्रहरीले रोकेको थियो । मधेशको मुद्दा बोकेर राष्ट्रिय राजनीतिमा पटक पटक सत्ताको स्वाद चाखेका महतो पछिल्लो समय मधेशले नपत्याएपछि, भारतले भर दिन छाडेपछि विरक्तिएका छन् । साथै अस्तित्व नै संकटमा रहेको लोसपालाई लत्याएर आफ्नो अस्तित्व जोगाउन उनी सडकमा उत्रिएका छन् । ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गर्दै २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतो निषेधित क्षेत्र तोड्न पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिरदेखि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित गरेको छ । फागुन पाँच गतेदेखि थप दुई महिनाका लागि यसलाई निरन्तरता दिएको थियो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको छ । सोही निषेधको विरोधमा महतो नेतृत्वको टोली प्रदर्शनमा उत्रिएको हो । सो प्रदर्शनमा काठमाडौं महानरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका थिए । माइतीघरलाई निषेधित क्षेत्र तोकिएकोमा प्रतिपक्षी दलका साथै सामाजिक अभियन्ताहरुले पनि सरकारको आलोचना गर्दै आएका छन् ।