राजनीति

प्रचण्डसँग जनार्दन जंगिए, वर्षमानसँग जुँगाको लडाईं, प्रचण्डको परिवार मोह, माओवादीलाई ऐठन (भिडियोसहित)


काठमाडौँ— नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव राखे । जसमा प्रदेशको नेतृत्व दिँदा परिवारवाद हाबी भएको र पार्टीको पक्षमा आवाज उठाउँदा आफूलाई जिम्मेवारीबिहीन बनाउन खोजिएको उल्लेख छ । आखिर नेतृत्वसँग जनार्दनको पटक पटक टकराव किन ?

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हैकमबारे उपमहासचिव जनर्दन शर्मा वार–पारकै लडाईंमा जुटेका छन् । प्रदेश इन्चार्ज र सह–इन्चार्जलाई जिम्मेवारी दिने क्रममा प्रचण्डले आफ्ना भाइ र बुहारीलाई काखी च्याप्दै आफूलाई पाखा लगाएको भन्दै जनार्दनले स्थायी समितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखे । तर त्यसका लागि उनले निकै संघर्ष गर्नुप¥यो । फरक मत दर्ता गराउन जनार्दनले पदाधिकारीहरुलाई आग्रह गरे । तर प्रचण्ड विरुद्धको मत आएकाले सबै प्रचण्डको मुख हेरेरै बसेका थिए । दर्ता गर्न नमानेपछि प्रचण्डलाई पत्र थमाएर जनार्दन बाहिरिए । यस्तो अवस्थामा उनको फरक मत पार्टीको विषय नबन्दा प्रचण्डको खल्तीमै थन्किएको छ । प्रचण्डकी बुहारी बिना मगरलाई सुदूरपश्चिम सहइन्चार्जको जिम्मेवारी तोकिएको छ भने बागमतीको सहइन्चार्जमा उनका भाइ नारायणप्रसाद दाहालको नाम सिफारिस भएको छ । असहमतिकै कारण नारायणप्रसाद दाहाललाई जिम्मेवारी भने तत्काल दिइएको छैन । यो निर्णय पार्टी निर्माणको उद्देश्य राखेर भन्दा पनि विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरिएको भन्दै प्रचण्डको परिवारवादी चरित्रको जनार्दनले विरोध गरेका छन् । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्ने आवाज उठाए बापत आफूले सजाय पाएको दाबी जनार्दनको छ । आफूलाई जिम्मेवारीबिहीन बनाइएको उनले आरोप लगाएका छन् ।

जनार्दनजस्तै सुदूरपश्चिममा मुख्यमन्त्रीको लाइनमा रहेका खगराज भट्टको पनि जिम्मेवारी खोसिएको छ । केही समयअघि सभामुखसहितका बहुमत प्रदेशसभा सदस्यहरुले खगराजलाई संसदीय दलको नेताबाट हटाउन ध्यानाकर्षण गराएका थिए । लगत्तै एकपक्षीय रुपमा खगराजलाई हटाउँदै मानबहादुर धामीलाई नेता चयन गरिएको थियो । निर्णय फिर्ता लिन प्रदेश समितिले निर्देशन दिए पनि त्यसको सुनुवाइ भएन । अन्ततः यसबारे चुप लागेको केन्द्रीय नेतृत्वले खगराजलाई इन्चार्जबाट पनि हटाएर बाइपास गर्ने रणनीति देखाएको छ । जनार्दन शर्माको निकट मानिने भट्टलाई केन्द्रकै टकरावले हटाइएको विश्लेषण हुने गरेको छ । खगराज पनि पार्टीमा विधी विधान हराउँदै गएको र परिवारवाद मौलाउँदा आफ्नो राजनीतिक जीविन सिध्याउने खेल भएको बताउँछन् ।

जनार्दन अहिले मात्रै पाखा लागेका भने होइनन् । अहिले पार्टीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दनको टकराव बढ्दो छ । पार्टीको उत्तराधिकारीको लडाईंमा रहेका उनीहरुमध्ये वर्षमान हाबी हुँदा जनार्दन प्रचण्डको ओझेलमा पर्दै आएका छन् । यी दुई नेताकै टकरावले प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए । त्यही बेलादेखि जनार्दन प्रचण्डसँग असन्तुष्ट छन् भने वर्षमान पुन अहिले सरकारले गरिरहेका कामकारवाहीमा प्रचण्डलाई योजना बनाउन सहयोग गरिरहेका छन् । जनार्दन भने गत साउनको केन्द्रीय समितिदेखि नै पूरक प्रस्तावको खेती गरिरहेका छन् । फागुन १ मा भएको विधान सम्मेलनमा पनि जनार्दनले अध्यक्षमा प्रचण्डको दबदबा हटाउने गरी पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनु पर्ने र कति समयसम्म पार्टीको नेतृत्वमा रहन पाउने भन्नेबारे टुंगो लगाउनु पर्ने प्रस्ताव गरेपछि प्रचण्डको नजरमा जनार्दनप्रतिको विश्वास गुम्दै गएको छ । तर पार्टीलाई विधिमा ढाल्न जनार्दन लडिरहेको देखिन्छ । त्यसमाथि समाजवादी मार्चामार्फत नेत्रविक्रम चन्द विप्लवलगायत पार्टीमा फर्किन खोज्नुलेसमेत जनार्दन झस्किएका छन् । किनभने जनयुद्धताका विप्लवपछिको वरीयतामा मात्रै जनार्दन र वर्षमान थिए । त्यसमाथि प्रचण्डकै प्रधानमन्त्रीत्वकालमा उपप्रधानमन्त्री बन्न खोजेका जनार्दनलाई नारायणकाजी श्रेष्ठले रोकेपछि अहिले उनको बर्हिगमनमा वर्षमानको सत्ता यात्रा रोक्न पनि जनार्दनले विद्रोहीको रोल खेल्नु परेको हुनसक्छ । जनार्दन माओवादीका नेतामध्ये देउवाको निकट मानिन्छन् ।

अहिले पार्टी र नेताहरुको विलासी जीवनशैली, मनोमानी र अध्यक्षले चाहेअनुसार सबै निर्णय हुने प्रवृत्तिविरुद्ध केही नेताहरु बोल्न थालेका छन् । माओवादी नै प्रचण्ड र प्रचण्ड नै माओवादी जस्तो देखिएको र विप्लवजस्ता नेता नै प्रचण्डका सारथि बनिरहेका बेला दीर्घकालका लागि भिड्ने रणनीति जनार्दनले बनाएको भए उनकै लागि फाइदाजनक हुनसक्छ । तर विगतमा पनि आधाभन्दा बढी कार्यकर्ता आफ्नो पक्षमा हुँदा पनि प्रचण्डको विरोध गरेकै कारण बाबुराम भट्टराईदेखि मोहन वैद्यसम्मले पार्टीबाट हात धुनुपरेको अवस्थामा जनार्दनले प्रचण्डसँग सिंगौरी खेलिरेका छन् । यस्तो अवस्थामा प्रचण्डलाई घुक्र्याएर सत्तामा पुग्नेबाहेक जनार्दनको ठूलो उद्देश्य तत्कालका लागि भने अरु देखिँदैन ।