खेलकुद

जोर्डन र नेपाल भिडन्त, को कति बलियो ?, सावित्राको मोर्चा प्रीतिले सम्हालिन् ? इतिहास रच्ने अवसर (भिडियोसहित)


काठमाडौँ— घरेलु मैदानमा खुट्टा चलाउने अवसर नपाएका नेपालका महिला राष्ट्रिय फुटबल खेलाडीहरूले विदेशमा भने जादुमयी प्रदर्शन गरिरहेका छन् । देशमा महिला लिगको अन्यौलता कायम नै छ । तर नेपाली महिला खेलाडीहरूले विदेशी भूमि साउदी अरबमा भने लोभ लाग्दो प्रर्दशन गरिरहेका छन् । लगातार ४ खेलमा जित हात पार्दै नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । नेपालले उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

नेपाली महिला फुटबलमा अहिले एक पछि अर्को सफलताको खबरले फुटबल समर्थकलाई उत्साहित बनाएको छ । सावित्रा भण्डारी (साम्बा) चम्किदा साउदी अरबमा नेपाली महिला टोलीले तहल्का नै मच्चाएको छ । साउदमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाली महिला टोली पुगेको छ । समूह चरणका खेलबाटै नेपालले प्रतियोगितामा बलियो प्रतिद्वन्द्वीको रुपमा आफूलाई प्रस्तुत गरेको थियो । त्यसमा पनि गोल मेसिनको रुपमा चिनिएकी सावित्राकोे खेल गौरव गर्न लायक छ । उनले प्रतियोगिताका सबै खेलमा गोल गरेकी छन् भने इराकविरुद्धको खेलमा एक्लै पाँच गोल गर्दै दक्षिण एसियामै सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान कायम गरेकी छन् । जारी च्याम्पियनसिपमा ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् । गएराति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले सर्वाधिक गोल गर्ने रेकर्ड बनाएकी हुन् । सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेकी हुन् । भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।

नेपाली महिला फुटबलतर्फ अन्र्तराष्ट्रिय जगतमा परिचय बनाउन सफल साम्बा युरोपेली लिगमा माथिल्लो स्तरको क्लबबाट खेल्ने एकमात्र नेपाली महिला खेलाडी हुन् । यता प्रिति राईको उत्कृष्ट गोलमा नेपालले लेवनानमाथि सानदार पुनरागमन जित रचेको थियो । प्रिति निकै उत्कृष्ट लयमा प्रस्तुत भइरहेकी छन् । प्रिति र साबित्राको जोडी यस प्रतियोगितामा राम्रोसँग जमेको छ । त्यसैले पनि खेल निकै रोमाञ्चक बन्ने गरेको छ । नेपाली डिफेन्डर र गोलकिपरबीच राम्रो समन्वय हुन नसक्दा नेपालले आत्मघाती गोल गर्दै १–० को अग्रता लेबनानलाई सुम्पिएको थियो । तर दोस्रो हाफमा भने नेपाली खेलाडी खेलमा फर्किदै लेवनानमाथि जित दर्ता गरेको थियो । लेवनानविरुद्ध खेलमा सावित्राले पहिलो हाफमा मैदानका कारण खेल्न गाह्रो रहेको बताइन् ।

साउदीमा साबित्रालाई गोल गर्न सहजकर्ताको भूमिकामा प्रिति राई छिन् । प्रिति विना साबित्रा अधुरो देखिन्छिन् । तर अब फाइनलमा प्रिति र साबित्राको जोडी नजम्ने भएको छ । सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छन् । वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको छ । सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । तर वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेको हो । नेपालले फाइनलमा उपाधिका लागि जोर्डनसँग खेल्ने छ ।

प्यालेस्टाइनमाथि फराकिलो जित निकाल्दै जोर्डन वाफ च्याम्पियनसिपको फाइनल पुगेको थियो । जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो । नेपालभन्दा विश्व वरीयतामा समेत अघि रहेको जोर्डनलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हेरिएको छ । प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ताको दौडमा निकै अघि छिन् । तर फाइनलमा साबित्राले खेल गुमाउने भएपछि नेपाली दर्शक केही निराश बनेका छन् । उपाधि भिडन्तको खेलमै साबित्रा उपलब्ध नहुँदा उनको अभाव पक्कै महसुस हुनेछ । यद्यपि, बलियो प्रतिस्पर्धीका रुपमा प्रस्तुत भएको नेपाललाई उपाधि जितका लागि हाम्रो पनि शुभकामना ।।