Breaking

बेपत्ता युवक खोज्न आज सेती बाँध खोलिंदै, सुरक्षित रहन आग्रह


काठमाडौँ— पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकका अनुसार आज बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको हो।

प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।’उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन छन् ।

१४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

यसअघि मंसिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो । पछि उनी सेती नदीको नदीपुर क्षेत्रमा मृत फेला परेका थिए ।