Breaking

मन्त्री फेर्दै प्रचण्ड, नारायणकाजी र प्रकाशशरण जोगिए, उपेन्द्र र प्रेम आले थपिँदै, ज्वाला र बस्नेत बाहिरिने पक्का


काठमाडौँ – आफ्नो तेस्रो कार्यकालको एक वर्ष बितेपछि धक्का दिने गरी अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको तयारी गरेको लामै समय भइसक्यो । यहीबीच कहिले राष्ट्रिय सभाको बहाना तथा कहिले सत्तासहयात्री पार्टीको असहयोग देखाँउदै यसलाई अघि बढाउन नसकेका उनीमाथि मन्त्रीले काम गर्न नसकेको दबाब अहिले बढिरहेको छ । फलतः बाध्यतावश नै त्यतातर्फ अघि बढ्ने तयारीमा रहका उनले कसरी गर्दैछन् त हेरफेर ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर गर्न देखाएको चासो छेपारोको कथा बन्दा अब भने बाध्यताले नै त्यो बाटो तय हुने अवस्था विकास हुन थालेको छ । एक त माओवादी र कांग्रेस दुवैको नीति तय गर्ने सम्मेलनले गठबन्धन कायम गर्ने निश्चित गरेको छ । अर्कातर्फ अब केही परिवर्तन देखाउनुपर्ने दबाबमा प्रधानमन्त्री छन् । त्यसमा विवादित मन्त्री र उनीहरुको राजीनामालाई नै प्रतिपक्षीले एजेण्डा बनाउन थालेपछि यो सबैको निकाश मन्त्री हेरफेर नै हुन सक्ने प्रचण्डको बुझाइ छ । जसका लागि राष्ट्रिय सभाको नेतृत्व कस्को हातमा पर्ने, देशी विदेशी राजनीतिक अवस्था र सत्ताघटक सबैको सहमति समेत आधार बन्दा त्यो सबै मिल्दै जान थालेको भान भएको हो । जहाँ सत्तारुढ दलहरुका आ–आफ्नै दाबीले ठोस परिस्थिति विकास भई नहालेको अहिलेको अवस्थामा सत्तासहचारी दलकै नेताहरुसमेत मन्त्रीको विरोधमा उभिन थालेका छन् । यसैको उदाहरण कांग्रेसका सांसद रामहरी खतिवडाले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती स्टण्डमा लिप्त भएको तथा कमिसनको खेतीमा लागेको संसदबाटै आरोप लगाएका छन् । तर यहीबीचमा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले भने आफू मन्त्रीको खेलमा नरहेको संकेत गरेका छन् ।

उनको दाउ गृहमन्त्रीसम्मै त हैन ? भन्ने विश्लेषणबीच उनले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् । गृहमन्त्रीमा उनलाई लाने रणनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा लागे नारायणकाजी श्रेष्ठको व्यवस्थापनमा सकस पर्ने अवस्थाकाबीच सिटौला राष्ट्रिय सभा अध्यक्षमै समेटिने संकेतले प्रचण्डलाई सहज बनेको छ । यो विषय डा.सिके राउतको पार्टी जनमतलाई प्रतिपक्षीमा पुर्याउने सत्तारुढ गठबन्धनको तयारीसंग पनि जोडिएको छ । जसले खाली हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रियसभा अध्यक्षमा भाग लगाउने तयारीमा कांग्रेस र माओवादी छन् । जसले आफूले चाहेको गृहमन्त्रालयको बहस नै नहुने अवस्थाले सिटौला राष्ट्रिय सभा अध्यक्षमा इच्छुक देखिएका हुन् ।

माओवादीका मन्त्रीहरु उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ र उर्जामन्त्री शक्ति बस्नेत नै निसानामा रहँदा उनीहरु आफ्नै दबाबमा सरकारमा टिकिरहेका छन् । यता एक समय कांग्रेसको सबै मन्त्री फेर्ने रणनीतिमा प्रचण्ड रहेको चर्चासमेत चलेको थियो । त्यसमा पनि अर्थमन्त्री र परराष्ट्रमन्त्री निसानामा पर्दा उपप्रधानसहित परराष्ट्रमन्त्री बन्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लागि परेका छन् । त्यसका लागि मधेश प्रदेशको मुख्यमन्त्री पनि त्याग्ने तयारीमा रहेका उनलाई प्रचण्डले तत्काललाई थामथुम गरेका छन् । अर्थात एक त सबैमन्त्री फेर्न कांग्रेस सभापति शेरबहादुर देउवा इच्छुक छैनन् । अर्कातर्फ परराष्ट्रमन्त्री एनपी साउद भारतमा हुनु र मोदीको नेपाल भ्रमण तय हुने अवस्था बन्नुले उनी जोगिएका छन् । त्यस्तै प्रधानमन्त्रीसँग सुधारिएको सम्बन्ध र लगानी सम्मलेनको तयारीले अर्थमन्त्री डा.प्रकाशशरण महत पनि जोगिएका छन् । यसले आफू अनुकूल वातावरण नबनेपछि उपेन्द्र अलमलमा देखिन्छन् । त्यस्तै विवादिद नाम सुदन किराती जोगाउनु आफ्नो भाग जोगाउनुको अवस्थामा प्रचण्ड छन् । किनभने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय खाली भए दाबी गर्ने तयारीमा कांग्रेस छ । यता कांग्रेसबाट स्वास्थ्यमन्त्री मोहन बस्नेत भने परिवर्तन हुनसक्ने सम्भावना बढी छ । उनको ठाँउमा प्रदीप पौडेल आउने चर्चाकाबीच यही कारण उनी महासमितिबाटै देउवा फकाउने बाटोमा लागेको चर्चा छ । यसले मन्त्री हेरफेर नै भए पनि सरकार आक्रमक ढंगबाटै अघि बढ्ने तर्कमा दम देखिँदैन ।

हुन त रमेश लेखक, सन्जय गौतमलगायतलाई मन्त्री बनाउनु पर्ने कांग्रेसभित्र दबाब । जो गुटभन्दा साझा व्यक्ति बन्न सक्ने अवस्थाले देउवा पनि यसमा सकारात्मक छन् । तर धेरै परिवर्तन गर्नुपर्ने अवस्थाले समस्या उत्पन्न भइरहेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीमा पनि दुईओटै मन्त्री फेर्न पार्टीकै नेताको दबाब छ । त्यसो भए अरु पार्टीका पनि सबै मन्त्री फेर्नु पर्ने अवस्था आउने भन्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला मात्रै फेर्न प्रचण्डकै प्रस्ताव छ । जुन ठाँउमा उपप्रधानसहित राजेन्द्र पाण्डे र भौतिक पूर्वाधार मन्त्रीकै रुपमा प्रेम आले आकंक्षी छन् । जसमा आले दुवैको रोजाई बन्दा उनलाई मन्त्री बनाउने तयारी छ ।