Breaking

नारायणगढ–मुग्लिन सडकखण्ड : आजदेखि नियमित सञ्चालन


काठामाडौँ— नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो । चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । ६० मिटर अग्लो पहाड काट्न गत वर्ष पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । ६ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए ।

कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।