Breaking

आइसिसी लिग-२ मा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल


काठमाडौँ— आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ।

त्रिवि मैदान कीर्तिपुरमा दुई टोलीबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग-२ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतस् कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले मात्रै लिग-२ मा ३६ खेल खेल्नेछ। ती मध्ये जारी सिरिजमा आजको सहित ४ खेल खेलिसक्दा अब २०२७ सम्म हुने विभिन्न सिरिजहरूका ३२ खेल खेल्नेछ।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो। अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए। अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए।

यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।

नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।