Breaking

न्याय नदिएसम्म घर फर्कन्नौँ : मिटरब्याजपीडित


काठमाडौँ— लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।

मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका निम्ति गठित आयोगको म्याद सकिएको उनको भनाइ छ ।

उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुला गराउनुपर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज र वडामा दर्ता ‘फर्जी तमसुक’ अवैध घोषणा गर्नुपर्ने माग गरे ।

यस्तै, पीडकले घटाएको हिंसा, हत्या, बलात्कारलगायत घटना छानबिन गरी उचित दण्डसजायको व्यवस्था गरिनुपर्ने उनले बताए ।

मिटरब्याजपीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख रुपैयाँ ऋण लिएकामा ३० लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताइन् । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनको भनाइ छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारीपीडितको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे । आन्दोलनका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ प्रदर्शनस्थलमै आएपश्चात् सातबुँदे सहमति भएको उनले बताए ।