अपराध

अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा दुई पक्राउ


काठमाडौँ— प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका -११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए ।

उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तरगतको कसूरमा कारबाही प्रक्रिया अघि बढ्ने एसपी बोगटीले बताए ।