Breaking

विपक्षी सांसदबाट संसद अवरुद्ध


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।

एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ । केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’

त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, राष्ट्रिय स्वतन्त्र पार्टी , राप्रपाका सांसदहरुले पनि साथ दिए । सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिने बताए ।

केसीले आरोप दोहोर्याए ।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको भन्दै आपत्ति जनाए । आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्ने प्रश्न गरेका उनले भने, ‘बहुमतको सरकार हो, संसदका बहुमत सदस्यहरुको विश्वास छ भने आफूले पेश गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन रु छैन भने नैनिक रुपले राजीनामा दिनुपर्छ ।’

रास्वपाका विराजभक्त श्रेष्ठले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न गरे भने राप्रपाका ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध हुने चेतवनी दिए ।

सत्तारुढ माओवादी केन्द्रका माधव सापकोटाले शाहीलाई जवाफ दिँदै संसद छाडेर जान चुनौती दिए ।

कांग्रेस सांसद राजेन्द्र बजगाईँले मिटरब्याज पडकलाई सत्ता पक्षले संरक्षण गरेको आरोपको खण्डन गरे ।

त्यसपछि सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए, तर एमाले सांसदहरु उठेर विरोध गरे । एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।