Breaking

कांग्रेसबाटै लोकतन्त्रको उपहास, प्रचण्ड असफल, देउवाले नेतृत्व लिन सकेनन्, माधव प्रधानमन्त्री बन्दैनन्


काठमाडौँ – नेपाली कांग्रेसको ठूलो तप्का सरकारका कामकारवाहीप्रति असन्तुष्ट रहँदा पनि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिन आँट आएको छैन । बरु पार्टीको नीतिमा निर्वाचन पूर्वको गठबन्धन नगर्ने प्रस्ताव ल्याउँदा आफू प्रधानमन्त्री बन्न नपाउने चिन्ता छ । यो सरकार असफल भए पनि ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । तर पनि देउवालाई प्रधानमन्त्री बन्न नपाउने चिन्ता किन छ ?
नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत तीनओटै राजनीतिक प्रतिवेदनमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको निश्कर्ष निकालिको छ । जसमा, कांग्रेस सरकारमा भए पनि त्यसको आभाष हुन नसकेको, गर्नुपर्ने जति कामहरु गर्न नसकेको तथा आफ्नै मन्त्रीहरुले समेत काम गर्न नसकेका विषयहरु औंल्याइएका छन् । अहिले सरकारप्रति स्वयं सत्तारुढ पार्टीहरु र जनताको नै चरम असन्तुष्टि रहेका बेला कांग्रेसले चाहिँ नेतृत्व किन लिन सकेन त ? प्रश्न उब्जिएको छ । एकातर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसक्नुको दोष मन्त्रीलाई देखाएर मन्त्री नै हेरफेरको तयारी गर्दा कांग्रेस बाधक बनेको देखिन्छ भने, सरकारले राम्रो काम गर्न नसकेको आफैँले निश्कर्ष निकालिरहेका बेला किन सरकारको नेतृत्व लिन चाहँदैन र सभापति शेरबहादुर देउवा किन गठबन्धनप्रति यति धेरै इमान्दार बनिरहेका छन् । पार्टीकै पदाधिकारीहरुले समेत बुझ्न सकेका छैनन् ।

के यसपछि माधव नेपाल प्रधानमन्त्री बन्न सक्छन् ? प्रचण्ड नेतृत्वको सरकार असफल भइसकेको भन्दै कांग्रेसकै केही नेताहरुले अब सरकारको नेतृत्व माधवकुमार नेपालको हातमा दिनुपर्ने बताए । कांग्रेसको ठूलो तप्का अहिले पनि सरकारको विरोधमा छ । यद्यपि उनीहरुले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नु पर्नेमा माधव नेपालको नाम अघि सारिरहेका छन् । अहिलेको गठबन्धनमा पहिलो दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने, त्यसपछिको एक वर्ष माधव नेपाललाई दिने र चुुनावी सरकारको नेतृत्व देउवाले गर्ने भद्र सहमति भएको बताइन्छ । यद्यपि सहमति औपचारिक रुपमा सार्वजनिक गरिएको भने छैन । नेपालको संविधानको धारा ७६ मा सरकार गठबनसम्बन्धी व्यवस्था छ । अहिलेको सरकार उपधारा दुुई अनुसार चलिरहेको छ । गठबन्धनले नेपाललाई प्रधानमन्त्री हस्तान्तरण गर्दा यही उपधारा अनुसार गर्नुपर्नेछ । नेपालको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको हैसियतमा नभएकाले उपधारा दुुई अनुसार सरकार बन्न नसक्ने कानुनका जानकारहरु बताउँछन् ।

संसदमा तेस्रो दल भएर पनि माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । लोकतान्त्रिक र संसदीय व्यवस्थामा जनमतले पहिलो बनाएको दलले नै सरकारको नेतृत्व गर्नुपर्ने हो । कांग्रेस चुक्दा त्यसको नेतृत्व एमालेले लिन सक्नुपर्ने हो । तर पनि असफल भयो । अहिले त्यही पहिलो दल कांग्रेसका सभापति देउवा माओवादीले धोका दिनेमा सशंकित भएर आफ्नो पार्टीको नीति निर्माणमै गठबन्धन नगर्ने निर्णयमा भाजो हाल्न खोजिरहेका छन् । संविधानतः प्रचण्ड नेतृत्वको सरकार असफल भए पनि संविधानको धारा ७६(२) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने पालो देउवाकै हो । प्रचण्डले धोका दिइहाले पनि पटक–पटक सत्ता सहयात्राका लागि निमन्त्रणा गरेको एमालेको मुटु छाम्ने मौकासमेत कांग्रेसलाई छ । त्यतिमात्र होइन अहिले नै निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरिए राष्ट्रिय सभाको अध्यक्ष गुम्ने पिरमा पनि कांग्रेस छ । यसबीचमा कम्युनिस्ट धु्रवीकरण हुने चिन्तामा पनि देउवा छन् ।
तर तत्कालीन नेकपा नेतृत्वको सरकार धेरै टिक्न नसकेको नजिर मेटिसकेको छैन । कम्युनिस्टहरु मिल्दा प्रधानमन्त्रीका आकांक्षीकै लर्को लाग्नेछ । तर कांग्रेसमा त्यो चुनौती पनि छैन । कांग्रेसको महासमिति बैठकले निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकाले कांग्रेस बोक्नु भन्दा एमालेसँग हात जोड्नु फलदायी हुनेमा प्रचण्ड र माधव देखिन्छन् । देउवा भने अहिले पनि प्रचण्डले सत्ता सहज रुपमा आफूलाई हस्तान्तरण गर्नेमै ढुक्क देखिन्छन् । तर त्यति ढुक्क भइहाल्ने अवस्था पनि देखिँदैन । किनभने, गत चुनावअघि प्रधानमन्त्री भएका बेला देउवाले सहमति पालना नगरेपछि प्रचण्ड बालकोट पुगेको र बालकोटमा कुरा बिग्रएपछि फेरि कांग्रसकै कित्तामा फर्किएका थिए । हिजो संसद विघटनाका बेला पनि सरकारको नेतृत्व गर्न यीनै प्रचण्ड र माधवले देउवालाई आग्रह गरेका थिए । अहिले पनि कांग्रेसमा खटपट भए एमाले कित्तामा उभिएर पाँचै वर्ष प्रधानमन्त्री बन्ने बार्गेनिङ पावर प्रचण्डमा हुनसक्छ । त्यसमाथि सत्ताको फेरबदलमा निर्णायक भारत अहिले देउवाभन्दा प्रचण्डसँग कम्फर्टेबल बन्दा पनि सहमति अनुसार नै प्रधानमन्त्री बन्ने आशमा रहेका देउवाले पार्टीमा नीतिको मन्थनसमेत हुन नदिने र सरकारको नेतृत्व पनि गर्न नसक्ने देउवाको रवैया बुभिनसक्नुको छ ।