खेलकुद

नेपाल हारेपछि कप्तान रोहितले लिए जिम्मेवारी, सुध्रिएन नेपालको ब्याटिङ, घरेलु दर्शक निराश (भिडियोसहित)


काठमाडौँ— आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो । टस हार्दा पहिले ब्याटिङ गर्ने मौका नपाउनु तथा कप्तानसहित ओपनर ब्याट्सम्यानहरु नै चल्न नसक्दा नेपालले हाल ब्यहोर्नु परेको हो ।

आईसीसी विश्वकप लिग—२ अन्तर्गत तेस्रो खेल खेलेको नेपालले नामिबियासँग लगातार दोस्रो हार ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कमजोर ब्याटिङ गरेको नेपाल २ विकेटले पराजित भयो । यसअघि पनि नेपाल नामिबियासँग चार विकेटले हारेको थियो । नेपालको प्रशिक्षकमा मोन्टी देसाई आएपछि घरेलु मैदानमै एक दिवसीयमा पहिलो हार थियो । नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।
नामिबियाको जितमा कप्तान जेराल्ड एरास्मसले अर्धशतक प्रहार गरे । उनले ५२ रन बनाए भने जेजे स्मिथले नटआउट ३४ रन बनाए । त्यस्तै मिचेल भान लिंगेनले ३१ र रुबेन ट्रम्पलम्यानले १६ रन बनाए । यसक्रममा नेपालका कुशल भुर्तेलले ३ तथा दीपेन्द्र सिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल, रोहित पौडेलले समान १÷१ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो । नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार पूरा गर्दै ५८ रन बनाए । त्यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालको तर्फबाट अनिल साह, देव खनाल र कप्तान रोहितकुमार पौडेलले खाता नै नखोलि पेभेलियन फर्किए । नामिबियाका बर्नान्ड स्कोल्ज र जान निकोल लफ्टी इटनले समान ४÷४ विकेट हात पारे भने ज्याक ब्रसिल र जेराल्ड एरास्मसले समान १÷१ विकेट लिए ।
हारपछि नेपाली टोलिका प्रशिक्षक मोन्टी देसाइले पहिले ब्याटिङ गर्नका लागि योजना बनाएपनि टस हार्दा त्यो योजना असफल हुनुलाई नै हारको मूख्य कारण मानेका छन् । कुशल मल्ल र आसिफ शेखले राम्रो साझेदारी गरे पनि कप्तान रोहित पौडेलसहितका मुख्य ब्याटर आफ्नो भूमिकामा केन्द्रित हुन नसकेको उनको भनाइ छ । लक्ष्य कम भएपनि पनि नेपालले बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरेको उनले बताए ।

यता कप्तान रोहित पौडेल पनि खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसकेको भन्दै जिम्मेवारी लिने बताउँछन् । पावरप्लेमा तीन विकेट जाँदा तथा आफू र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले राम्रो स्कोर बनाउन कठिन भएको बताए । नेपालको ब्याटिङ अडर स्पष्ट भएको तथा परिस्थिति अनुसारको अडर निर्माण गर्न नेपाल तयार रहेको पनि बताएका छन् । नामिबियासँग हारेपछि नेदरल्यान्ड्सविरूद्ध कमब्याक गरेको बताउँदै नेपालले फेरि कमब्याक गर्ने समेत प्रतिक्रिया दिए ।

यो हारसँगै नेपाल तीन खेलबाट २ अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेल खेलेको नामिबिया २ मा जित र एकमा हारसँगै शीर्ष स्थानमा रहँदा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । नामिबिया र नेदरल्याण्ड्सबीच शुक्रवार खेल हुनेछ भने नेपालले अन्तिम खेल नेदरल्याण्डसँग आइतवार खेलेपछि यो सिरिज सकिनेछ । त्यसपछि नेपालले सेप्टेम्बरमा मात्र लिग–२ को सिरिज खेल्नेछ । त्यसअघि नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप खेल्ने कार्यक्रम छ । प्रशिक्षक मोन्टीले अब नेपाली टिम पूर्णतः टी–२० खेलमा केन्द्रित हुनेसमेत जानकारी दिए ।