राजनीति

सत्ता नभए ओली सकिन्छन्, कांग्रेस–माओवादीको भिडन्तमा च्याखे थाप्दै एमाले, यस्तो छ रणनीति (भिडियोसहित)


काठमाडौँ— सबै राजनीतिक दल पार्टी केन्द्रित बहसमा व्यस्त हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीमा छलफल चलाइरहेको छ । एमाले केन्द्रीय कमिटीको पूर्ण बैठक मुलत पार्टीको सांगठनिक सुधार र गठबन्धनविरुद्ध रणनीति तय गर्न लक्षित देखिन्छ । गुण र दोषको आधारमा सशक्त प्रमुख प्रतिपक्षी नबनेको आरोप खेपिरहेको एमाले अदालतको फैसलाले गिरीबन्धु काण्डमा डामिएपछि हालयकायल छ । यस्तो अवस्थामा एमाले र अध्यक्ष केपी शर्मा ओलीको अबको राजनीतिक अस्त्रबारे आमचासो छ । सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय के होला ? भन्ने विषयले एमालेको केन्द्रीय कमिटीको बैठक चासोपूर्ण बनेको छ ।

सरकारले मुलुक र जनतामाथि चरम ज्यादति गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै काठमाडौ केन्द्रित आन्दोलनको गृहकार्यमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले घनिभूत आन्तरिक छलफलमा जुटेको छ । मंगलबारदेखि केन्द्रीय कमिटिको बैठक चलिरहेको छ ।

झुलाघाट चुवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा, पार्टीको जिल्ला अधिवेशन हुँदै एमाले केन्द्रीयस्तरको छलफलमा जुटेको हो । संसदको दोस्रो शक्ति तर गठबन्धनले गलत्याएपछि प्रमुख प्रतिपक्षमा थन्किएको एमाले गुण र दोषको आधारमा सशक्त प्रतिपक्ष नभई सत्ता साझेदार दलसँग भाग हत्याउने दाउमा लाग्दा आलोचित छ । अर्कोतिर बाहिरी आवरणमा एमाले र अध्यक्ष ओली देखिए पनि पार्टीभित्र झाँगिएको गुटगत राजनीतिले एमाले सकसमा छ । एमालेभित्र एकछत्र अध्यक्ष ओलीमाथि पार्टीभित्र प्रश्न तेर्सिन थालेको छ । ओली आफैँ सुध्रिए मात्र एमाले सुध्रिन्छ भन्ने तप्का एमालेमा बढ्दो छ । गिरीबन्धु प्रकरणमा डामिएपछि थप दबाबमा रहेका ओली सरकार र सत्तारुढ दललाई गाली गरेरै भए पनि सहानुभूति बटुल्न उद्धत छन् ।

घण्टौंसम्म पनि गठबन्धनलाई गाली गरेर नथाक्ने ओली सार्वजनिक मञ्चमा पुग्ने बित्तिकै प्रतिपक्षी बन्नु स्वभाविक हो । तर प्रधानमन्त्री प्रचण्डलाई लाचारको अभिव्यक्ति दिने अध्यक्ष ओली एमालेको केन्द्रीय कमिटी बैकठ लगत्तै उही असफल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे । यता प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमै कांग्रेससँगको सहकार्य लाभदायक नभएको बिफ्रिङ दिएको महिना दिन पुग्नै लाग्दा सत्ता घटक नेपाली कांग्रेसको महासमिति वैठकमा चुनावी गठबन्धन र कम्युनिस्ट नबोक्ने विषयले खट्पटको शंका उब्जाएको छ । गठबन्धनकै नेताहरु अहिले कम्युनिस्टको मिलनका लागि हारगुहार गर्न थालिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डको सत्ता यात्राको खटपटमा ओली निर्णायक बन्ने दाउ हेरिरहेका छन् । कांग्रेस र माओवादीलाई जसरी पनि फुटाउन र समीकरण बदल्न खोजेका ओली अझै सफल हुन सकेका छैनन् । तर उनको प्रयास रोकिएको छैन । न्यायालय, संवैधानिक परिषदलगायत सबै क्षेत्रमा प्रतिपक्षमा बसेरै भाग हत्याउँन सफल एमाले पछिल्लो समय रित्तो बनिरहेको छ । यसले गर्दा पनि एमाले भित्र छटपटी बढ्दो देखिन्छ ।

https://youtu.be/9LAUd31tIoc?si=7AhcBMorrMdh0f0q