Breaking

सहकारी ठगीमा मुछिएका वडाध्यक्ष धरौटीमा छुटे लगत्तै पक्राउ

योहो संवाददाता

काठमाडौँ— पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष आज जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् ।

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए ।

आज आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

झुक्याएर एक महिलाको २ करोड रुपैयाँ बरबारको घर नै वडाध्यक्ष सुवेदीले खाइदिएको उजुरी परेको थियो । ‘अदालतमा उपस्थित भएपछि सम्मानित अदालतले धरौटीमा आड्ने आदेश गरेपनि उहाँविरुद्ध ठगीको अर्को जाहेरी थियो, सोहीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ एसपी थापाले भने ।

सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएका थिए । उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो ।

मित्रमिलन सहकारी प्रकरणमा ६ जना पुर्पक्षका लागि थुनामा छन् भने वडाध्यक्ष सुवेदीसहित ६ जना अहिलेसम्म धरौटीमा रिहा भएका छन् ।

सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ र हरेराम भण्डारी ७ लाख धरौटीमा रिहा भएका थिए भने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २३ जना अझै फरार छन् ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।