Breaking

सहकारी ठगीमा मुछिएका वडाध्यक्ष धरौटीमा छुटे लगत्तै पक्राउ


काठमाडौँ— पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष आज जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् ।

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए ।

आज आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

झुक्याएर एक महिलाको २ करोड रुपैयाँ बरबारको घर नै वडाध्यक्ष सुवेदीले खाइदिएको उजुरी परेको थियो । ‘अदालतमा उपस्थित भएपछि सम्मानित अदालतले धरौटीमा आड्ने आदेश गरेपनि उहाँविरुद्ध ठगीको अर्को जाहेरी थियो, सोहीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ एसपी थापाले भने ।

सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएका थिए । उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो ।

मित्रमिलन सहकारी प्रकरणमा ६ जना पुर्पक्षका लागि थुनामा छन् भने वडाध्यक्ष सुवेदीसहित ६ जना अहिलेसम्म धरौटीमा रिहा भएका छन् ।

सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ र हरेराम भण्डारी ७ लाख धरौटीमा रिहा भएका थिए भने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २३ जना अझै फरार छन् ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।