Breaking

नैनसिंह महरले तयार गरे १२६ पृष्ठको छुट्टै प्रतिवेदन


काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको महरले बताए । महरको प्रतिवेदन १२६ पृष्ठको छ । बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको उनले बताए । ‘पदाधिकारीहरुको कुरा मिलेर मात्रै हुँदैन । प्रतिवदेन तयार गर्दा हाम्रो कुरा कहीँ सुनिएन,’ महरले भने ।

महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनले बताए ।

आफूले तयार गरेको प्रतिवेदन महासमिति सदस्यहरुका बीचमा छलफल गराउन पार्टीले प्रवेश नगराए प्रतिनिधिहरुलाई वितरण गरिने उनले सुनाए ।

पाटीभित्र टिकट वितरण संरचना अनुसार तत् तत् पार्टी संरचनाले टुंगाउनु पर्ने उल्लेख गरेका छन् । जनताको भरोसा प्राप्त प्रतिष्ठित व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने उनको तर्क छ ।

पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ । महासमिति बैठक सोमबारदेखि सुरु हुँदैछ । पार्टी बैठकमा आधिकारिक रुपमा पाँच प्रतिवेदन पेस हुँदैछन् ।