Breaking

घोराही-तुलसीपुर सडकखण्डमा रास्वपाको दबाब यात्रा


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ ।

पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा आज रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो ।

तुलसीपुरको बीपी चोकमा यात्रा समापन गर्दै पूर्वमन्त्री तथा सांसद शिशिर खनालले वर्षौं सडक अलपत्र पारेर नागरिकलाई दुःख दिने काम भएको भन्दै दबाब मुलक यात्रा गर्नुपरेको बताए ।

रास्वपाका नेता एवं विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले आफूहरुको पटकपटकको दबाबले ठेक्का रद्द भए पनि नयाँ ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताए ।

उनले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिन यात्रा गरेको बताए ।

घोराहीदेखि सुरु भएको दबाब यात्रामा रास्वपाका नेता कार्यकर्ता र सर्वसाधारण गरी दुई सय भन्दा बढी सहभागी थिए ।

०७५ सालमा सुरु भएको घोराही-तुलसीपुर चारलेन सडक विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो ।

पाँच वर्षदेखि सडक निर्माणाधिन अवस्थामा अलपत्र पारेपछि गत जेठमा ठेक्का रद्द गरेर नयाँ प्रक्रिया बढाइएको थियो । तर हालसम्म उक्त सडकको ठेक्का लागेको छैन ।