Breaking

भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु


काठमाडौँ— चोरी शिकारी गर्न निस्केका एक युवकको गोली लागेर मृत्यु भएको छ।

बबई गाउँपालिका – ४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका – १ स्थित बान्द्रेखोला जंगलमा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।

इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार राति १ बजेतिर खत्रीको शव जंगलमा फेला परेको थियो ।

शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो।

तुलसीपुरका प्रहरी प्रवक्ता मल्लका अनुसार खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको छ भने छातिमा भरुवा बन्दुकको गोली लागेको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

शुक्रबार बेलुकी साढे ८ बजेतिर खत्रीको भरुवा बन्दुकको गोली लागेको भएपनि मध्यरातिमा मात्रै प्रहरीले त्यसबारे सूचना पाएको थियो । खत्रीसहित गाउँका ११र१२ जना साथीहरु मिलेर वन्य जन्तुको चोरी शिकारी गर्न भनेर जंगल गएको समयमा उनलाई गोली लागेको थियो ।

खत्रीलाई आँफैले बोकेको भरुवा बन्दुक पड्किदा छातिमा गोली लागेर मृत्यु भएको हो वा उनकै साथीहरु मध्य वन्य जन्तुलाई हानेको गोली गल्तिबस लागेको होरु भन्ने बारे यकिन भइ नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

खत्रीसंगै चोरी शिकारमा निस्किएका अन्य सबैको पहिचान भइसकेको भएपनि उनीहरु सबै फरार रहेको हुँदा उनीहरु पक्राउ परेपछि तथ्य कुरा खुल्ने जिल्ला डिएसपी जनकबहादुर मल्लले बताए ।

संगै शिकार खेल्न भनेर गएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।