दुर्घटना

तीर्थयात्री बोकेर चितवन जाँदै गरेको बस धादिङमा ट्रकसँग ठोक्कियो


काठमाडौँ— काठमाडौंबाट ‍तीर्थयात्री बोकेर चितवन गएको बस धादिङमा ट्रकसँग ठोक्किएको छ।

आज बिहान साढे १० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटलनजिकै चितवन जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक ठोक्किए दुर्घटना भएको हो।

दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय धादिङका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन्।

तीमध्ये मध्यम र गम्भीर घाइते भएका १४ जनालाई काठमाडौं रिफर गरिएको छ।

बस चालक मकवानपुरका ३२ वर्षीय रत्न तामाङ र लमजुङको राजनाथ नगरपालिका-५ का ५६ वर्षीय रामचन्द्र बख्रेल गम्भीर घाइते भएका छन्।

अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ।