Breaking

मलेसियाविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै


काठमाडौ – नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा स्थान बनाएको छ । जितका लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड ६६ रनमै अल आउट भएको थियो ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो ।