समाचार

जताततै महिला विभेदको सिकार, विज्ञ आवाज उठाउने–सरकार नसुन्ने, महिला सशक्तिकरण नारामै सीमित (भिडियोसहित)


काठमाडौँ— विज्ञहरुले महिला सशक्तिकरणको अभियानलाई प्रभावकारी बनाउन नीति निर्माण तहमा नै दबाब दिनुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्षेत्रदेखि समुदाय तथा परिवारभित्र पनि महिलामाथि विभेद भएको उल्लेख गर्दै विज्ञले महिला सशक्तिकरणमा जोड दिएका हुन् ।

महिला सशक्तिकरणको अभियानलाई प्रभावकारी बनाउन नीति निर्माण तहमा नै दबाब दिनुपर्ने आवश्यकता रहेको विज्ञहरुले औंल्याएका छन् ।राजनीतिक विश्लेषक हरि शर्मा, अर्थविद् डा. विना प्रधान र सञ्चारकर्मी आरती चटौतले महिला सशक्तिकरणमा पुरातनवादी सोच नै समस्याको रुपमा रहेको तर्क गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न नीति निर्माणको तहमा पुग्नेगरी दबाबमुलक आन्दोलन आवश्यक रहेको बताउनुभएको हो । ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक शर्माले महिला सशक्तिकरणको अभियानलाई सामाजिक सञ्जालले समेत अझेलमा पार्ने प्रयास गरेकाले त्यसबाट जोगिन पनि यो अभियानलाई प्रभावकारी बनाउन नीतिगत क्षेत्रमा प्रभाव पार्ने गरी राजनीतिक क्षेत्रमा दबाब दिन ढिलाई गर्न नहुने बताउनुभयो ।

अर्थविद् डा. विना प्रधानले कार्यालयमा पाउने तलबबाट नै महिलाहरुमाथि विभेद हुने गरेको बताउनु भयो । सबै प्रकारको विभेद अन्त्य गर्ने परिपार्टीको विकास नभएसम्म महिला सशक्तिकरणको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकिने बताउनु भयो । उहाँले महिलाहरुलाई निर्वाचनको माध्यमबाट राज्यको नीति निर्माण तहमा पु¥याउने कानूनी व्यवस्था भएपनि उनीहरुलाई आर्थिक रुपमा सशक्त नबनाएसम्म सशक्तिकरण अभियानले सार्थक परिणाम नदिने तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मी आरती चटौतले नेपाली मिडियामा पितृसत्तात्मक सोच हाबी भएकाले त्यसले पनि महिला सशक्तिकरणको क्षेत्रमा काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले महिलाहरुलाई नियन्त्रणमा राख्न हरेक मिडियामा ९९ प्रतिशत पुरुषहरु रहने हुनाले पनि उनीहरुले महिलाहरुलाई अघि बढाउने खालको सूचना सम्प्रेषण गर्न नसकिने बताउनु भयो ।

सञ्चारकर्मी चटौतले बहुराष्ट्रिय कम्पनीहरुको बढावाले पनि नेपालमा महिला अधिकारलाई सुनिश्चित गर्ने कुरामा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो ।