राजनीति

माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव


काठमाडौं — नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका प्रतिनिधिहरुले पार्टीलाई छरितो र क्रियाशील बनाइराख्न नेतृत्वलाई सुझाव दिएका छन् ।

आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिन पनि सुझाव दिए ।

नेता दिलीपकुमार प्रजापतिले केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव दिए । उनले पूर्णकालीन पार्टी सदस्यको स्पष्ट व्यवस्था गर्न सुझाव दिए ।

नेता कुमार पौडेलले पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था विधानमा गर्नुपर्ने बताए । उनले घाइते र पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्न सुझाव दिए ।

नेता परशुराम रम्तेलले कार्यकर्ताको आन्तरिक मूल्याङ्कन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछुतलाई गम्भीर रुपमा लिने व्यवस्था गर्नुपर्ने सुझाव पेश गरे । चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले विश्वभरका नेपालीलाई समेट्ने धारणा पनि आएको बताए ।

नेता बामदेव क्षेत्रीले विधानलाई छरितो बनाउन सुझाव दिँदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने बताए ।

नेता हरिराज अधिकारीले नागरिकता पाएपछि पार्टीको सदस्यता प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव दिए । उनले पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्ने सुझाव दिए ।

नेता रञ्जित तामाङले यही अधिवेशनबाट पार्टीको विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने सुझाव पेश गरे ।

नेता झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछुत गम्भीररुपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव दिए । उनले नागरिकता पाएपछि पार्टी सदस्य दिनुपर्ने व्यवस्था गर्न र स्थायी समिति हटाउन सुझाव प्राप्त भएको उल्लेख गरे ।

नेता निर्मल आचार्यले पार्टी सदस्य अनलाइनमार्फत नवीकरण गर्नुपर्ने व्यवस्था गर्ने र पार्टीलाई प्रविधियुक्त बनाउनुपर्ने सुझाव पेश गरे । उनले स्थायी समिति विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै पार्टीलाई पार्टी संरक्षक समिति बनाउनुपर्ने बनाउनुपर्ने बताए ।

नेता ओम शर्माले विधानको प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने बताए ।

सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेहरुलाई महाधिवेशनमा पर्यपक्षक राख्नुपर्ने सुझाव दिए । उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेट्नुपर्ने बताए ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे ।

नेता युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गरे ।

हालसम्म १३ समूहले विधानमाथि सुझाव पेश गरिसकेका छन् । मंगलबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।