बिजनेस

नेप्से ५.९१ अंक बढेर बन्द, घट्यो धितोपत्र कारोबार रकम


काठमाडौं — धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज करिब ६ अंक बढेको छ । गत कारोबार दिन मंगलबार साढे ३० अंकले घटेको बजार आज ५.९१ अंक बढेर २०७६.५० विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचन्ज (नेप्से) का अनुसार आज नेप्से बढेर बन्द भए पनि कारोबार रकम घटेको छ । यसदिन चार अर्ब २५ करोड २७ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । मंगलबार चार अर्ब ६६ करोड ७१ हजार रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

१३१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु) र पाँचथर पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

केही दिनदेखि लगातार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार हुँदै आएकोमा आज पनि यही कम्पनीले निरन्तरता दिँदै आएको छ । यो कम्पनीको १७ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक बढ्नेमा फाइनान्स समूह छ । यो समूहको मंगलबार सर्वाधिक परिसूचक घटेको थियो । आज यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ ।