खेलकुद

‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीतामा आजका दुवै खेल बराबरीमा


काठमाडौं — काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको दोस्रो दिन आज २ खेल सम्पन्न भएका छ ।
महेन्द्र ज्योती एक्स् (पुर्व) बिद्यार्थी मंच र खुम्बु यम्बु शेर्पा समाज बिच भएको पहिलो खेल ०–० गोल अन्तरमा टुङ्गिएको छ । उक्त खेलको म्यान अफ द म्याच खुम्बु यम्बु शेर्पा समाजका खेलाडी सोनाम शेर्पाले हात पारेका छन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेल खुम्बु भेटेरेन्स युनाइटेड र नाम्चे युवा समूह बिच भएको छ । १–१ गोल अन्तरमा समाप्त भएको उक्त खेलको म्यान अफ द म्याच, खुम्बु भेटेरेन्स युनाइटेडका खेलाडी पेम्बा शेर्पा बनेका छन् ।
सोमबारबाट सुरु भएको प्रतियोगितामा ठमिछोवा र खुम्जुङ युवा क्लबबिच भएको पहिलो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो भने खेल १–१ गोल अन्तरकासाथ बराबरीमा टुङ्गिएको र खेलको म्यान अफ द म्याच ल्हाक्पा रिता शेर्पा चुनिएका थिए ।

यस्तै, सोमबारकै अर्को खेलमा आमाडब्लम युवा क्लबले खुन्दे कम्युनिटी क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै बाजी मारेको र छिरिङ पल्जु शेर्पा उक्त खेलको म्यान अफ द म्याच बनेका थिए ।
शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ ।

८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन् । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ को यो १४ औं संस्करण हो । प्रतियोगितामा डमीछो फुटबल टिम, नाम्चे युवा समूह, खुम्जुङ युवा क्लब, आमाडब्लम युवा क्लब, खुन्दे कम्युनिटी क्लब, महेन्द्र ज्योती एक्स् (पुर्व) विद्यार्थी मंच, खुम्बु यम्बु शेर्पा समाज र खुम्बु भेटेरेन्स गरि ८ टिम सहभागी छन् ।

प्रतियोगिताको १४ औं संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन् । यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते समापन समारोहका साथ सम्पन्न हुनेछ ।