Breaking

शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या, एक जना पक्राउ


काठमाडौँ— झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार, शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै ५० वर्षीय पञ्जवीर घिसिङ पक्राउ परेका हुन् ।

सोमबार राति उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्न म्याद थपका लागि मंगलबार अदालत लगिएको उनले बताए ।

एसपी रेग्मीका अनुसार, उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको भन्दै उनले सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै उनले पछारेको र शिशु गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

त्यसपछि शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पुर्‍याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि किओच बाल अस्पताल दमक लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको एसपी रेग्मीले बताए ।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीको भनाइ छ । आरोपी घिसिङले घटना भएको बेला मादक पदार्थ समेत सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।