समाचार

शीतल निवासमा गायिका मेनुका सम्मानित


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गरे ।

राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताएको उनको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले मेनुकाले नेपाल र नेपाली गीत संगीतलाई विश्वबजारमा पुर्याउन उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । फरक शारीरिक क्षमताका बाबजुद पनि मेनुकाले प्राप्त गरेको उपलब्धी दुर्लभ रहेको राष्ट्रपतिको भनाई छ ।

गायिका मेनुका साताअघि नेपाल फर्किएकी हुन् । उनलाई गृहजिल्ला झापामा भव्य स्वागत गरिएको थियो । इण्डियन आइडलमा निर्णायकहरुले मेनुकालाई ’दोस्रो लता मंगेशकर’ को उपनाम दिएका थिए ।

गायिका पौडेल यतिबेला काठमाडौंमा छिन् । इण्डियन आइडलको अन्तिम १० बाट उनी गत साता बाहिरिएकी थिइन् । उक्त भारतीय रियालिटी शोले मेनुकालाई चर्चा दिलाएको छ ।