Breaking

इमरानको जनमतले सेनालाई धक्का, प्रधानमन्त्री बन्लान् ? शरिफको सकस, भुट्टो र सेनाको पुख्र्यौली दुस्मनी


काठमाडौँ – पाकिस्तानको आम निर्वाचन समापन भएको छ । तर निर्वाचनमा कुनै पनि दलले एकल बहुमत सकेनन् । जसले गर्दा अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठूलो दल बन्दै विश्वलाई नै चकित पारेको छ । तर अब पाकिस्तानको आगामी बाटो के हुने भन्ने बहस छेडिन थालेको छ ।
इमरान खानको नाम सुन्ने बित्तिकै विश्वभरका क्रिकेटप्रेमीको मष्तिस्कमा त्यो अनुहार आउँछ, जसले पाकिस्तानलाई सन् १९९२ को विश्वकप जिताए । करिब दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खानले सन्यास लिए र राजनीतिमा कदम राखे । तर उनको राजनीति सोचे जस्तो सहज भएन । निकै उतारचढाव पूर्ण बन्यो । राज्यको सम्पत्ति गैरकानुनी ढंगले बिक्री गरेको अभियोगमा इमरान खान अहिले जेलमा छन् ।

तर पाकिस्तानी जनताले भने खानको पक्षमा ठूलो जनमत देखाएका छन् । चुनाव अनेकन् सम्भावनाहरुको खेल हो भन्ने कथनलाई पाकिस्तानमा हालै सम्पन्न निर्वाचनले पुनर्पुष्टि गरेको छ । लामो समय विदेश निर्वासनपछि फर्केका नवाज शरिफ र हाल जेलमा रहेका इमरान खानको व्यक्तित्व परीक्षण पनि यो चुनावमा भएको छ । पाकिस्तानको निर्वाचनमा इमरान खानको दल तेहरिक ए इन्साफ (पीटीआई) ले सैन्य सत्ता समर्थित शरिफ नेतृत्वको दल पाकिस्तान मुस्लिम लिग पीएमएल (एन) लाई कडा चुनौती दिएको छ ।
खानलाई निर्वाचन अघि एकपछि अर्को गरी सजाय सुनाइएको थियो । उनको विवाहलाई समेत गैरकानुनी घोषणा गरिएको छ । यसकारण पाकिस्तानका जनतामा उनीप्रति सहानुभूति जागेको देखिन्छ । बिहीबार देशव्यापी आमनिर्वाचन र ४ राज्यमा विधानसभा निर्वाचन भएको थियो । ९७ सिटमा पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री खानको पार्टी (पीटीआई) समर्थित उम्मेदवारले जितेका छन् । जसमा तेहरिक–ए–इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रियसभा अध्यक्ष असद कैसर र पार्टी सदस्य अली अमीन गंडापुर पनि छन् । यसबाहेक, तेहरिक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले खैबर पख्तुनख्वा विधानसभामा भारी बहुमत पाएका छन् । पन्जाब विधानसभामा समेत स्वतन्त्र उम्मेदवारहरूले नवाज शरिफको मुस्लिम लिगसँग प्रतिस्पर्धा गर्दा ७६ सिट र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ सिट जितेका छन् । रोचक कुरा चाहिँ के भयो भने इमरान खान जेलभित्र छन् । निर्वाचन आयोगले पीटीआईको चुनाव चिह्न क्रिकेट ब्याट खोसेको थियो । जसका कारण पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रूपमा चुनावमा उठेका थिए । त्यसो हुँदाहुँदै पनि अपेक्षा गरिएको भन्दा फरक नतिजा आउँदा खानको दलको पक्षमा ठूलो जनलहर देखा प¥यो ।

पकिस्तानमा सेनाको हुकुम चल्छ । गत बिहीबार भएको आम चुनावबाट कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि सेना प्रमुख मुनिरले राजनीतिक दल तथा तिनका नेताहरुलाई देशका लागि एकजुट हुन आह्वान गरेका छन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री खान समर्थक स्वतन्त्र उम्मेदवारहरुले सबैभन्दा बढी सिट जितेपछि पाकिस्तानमा राजनीतिक अस्थिरता थप गहिरिने आकलन गरिएको छ । पूर्वप्रधानमन्त्री खान र निर्वाचनबाट दोस्रो ठूलो दल बनेको अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ दुवैले आफ्नो जित भएको दाबी गरिरहेका छन् । यता खानविरुद्ध अमेरिका पनि लागेको आशंका गरिएको छ । सेना प्रमुख मुनिरले दलीय स्वार्थका लागि २५ करोड जनताको भविष्यमाथि खेलबाड नगर्न पनि अपिल गरेका छन् ।

त्यसो त सेनाले नवाज शरिफलाई चाहेको थियो । सेनाको समर्थन हुँदाहुँदै पनि शरिफको दलले बहुमत ल्याउन नसकेपछि उसको चाहनामा ठूलो धक्का लागेको छ । शरिफको दलको सरकार बन्न बिलाल भुट्टो नेतृत्वको तेस्रो दल पीपीपीको समर्थन आवश्यक पर्छ । तर सेना समर्थित दललाई भुट्टोले सहजै समर्थन दिन सक्ने परिस्थिति भने छैन । यसमा विगतको राजनीतिक पृष्ठभूमि र इतिहासले पनि भूमिका खेलेको छ । भुट्टोका हजुरबा अर्थात तत्कालीन प्रधानमन्त्री जुल्फिकर अलि भुट्टो सेनाले नै कू गर्दा मृत्युदण्ड दिएको थियो । बिलाललाई प्रधानमन्त्री बनाउनसमेत सेना तयार भए पनि सेनाको पक्षमा जाँदा दलभित्र विवाद हुने भएकाले उनका लागि त्यति सहज परिस्थिति देखिँदैन । आफ्नो हजुबालाई मृत्युदण्ड दिने सेनासँगै मिलेर जान बिलालका लागि अनुकूल नहुने टिप्पणी भइरहेको छ ।

बिलाल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो तथा पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीका छोरा हुन् । यता, इमरान खान नहुँदा सेना र जनाताबीच मुडभेडको अवस्था आउने स्थिति बनेको छ । इमरान र धार्मिक पार्टीले चुनावमा धाँधली भएको भन्दै आन्दोलनको घोषणा गरिसकेको अवस्था छ । यस्तो अवस्थामा इमरानलाई जेलबाट मुक्त गर्नु पर्ने नागरिक समाजहरुको जोड छ । विकसित राजनीतिक घटनाले एक पटक फेरि सेना हार्नु पर्ने अथाव ब्याक हुनुको विकल्प छैन । सेनाले चाहँदा शरिफको प्रधानमन्त्री यात्रा सुरुमा निश्चित भएपनि चुनावको नतिजाले भने उनलाई पनि पछाडि धकेलेको छ ।