Breaking

रवि लामिछानेको प्रश्न : विनोद चौधरीसँग बयान लिइयो ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्ने प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो । सो बैठकमा रास्वपा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर गृहमन्त्रीलाई प्रश्न गरेका हुन् ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालिन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि सेयर भएको भेटिएको सीआईबीको भनाइ छ ।

सांसद लामिछानेको प्रश्नको जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।