Breaking

३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिनादर्ता सञ्चालन


काठमाडौं — थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालन भइरहेको सरकारले गरेको सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालनमा छन् ।

बाँकी ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएको सर्वेक्षमा उल्लेख छ । यस क्षेत्रमा कुल ११ लाख ३० हजार ६ सय ४५ जना संलग्न छन् । तीमध्ये ४ लाख ३ हजार ९ सय ६४ महिला छन् । यो भनेको ३६ प्रतिशत हो ।

त्यस्तै यो क्षेत्रमा पुरुष ७ लाख २६ हजार ६ सय ८१ संलग्न छन् । यो ६४ प्रतिशत हो । सर्वेक्षणका अनुसार यसलाई सय प्रतिष्ठानमा हेर्दा औसत १ सय ४६ पुरुष र ८१ महिला रोजगारीमा रहेका छन् । यसको अर्थ एक प्रतिष्ठानमा औसत दुई कामदार कार्यरत रहेको पाइयो।

त्यसैगरी यस क्षेत्रमा संलग्न कुल कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउनेको संख्या २ लाख १९ हजार ५ सय ५१ छ । जसमा महिला ४५ हजार ९ (२०.५० प्रतिशत) र पुरुष १ लाख ७४ हजार ५ सय ४२ (६०.६० प्रतिशत) छन्।

सर्वेक्षण अनुसार यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा नलिई (परिवारका सदस्य) काममा संलग्न रहेका व्यक्तिको संख्या बढी छ।

त्यस्तै तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रति प्रतिष्ठान औसत वार्षिक ६ लाख ४ हजार ९ सय १२ रुपैयाँ खर्च भएको देखिएको छ भने प्रति कामदार औसत वार्षिक २ लाख ८ हजार ४ सय ९४ खर्च देखिन्छ ।

नेपाल स्तरीय औद्योगिक वर्गीकरण खण्ड ‘जी’ को मुख्य विभाजन ४५ मोटर, मोटरसाइकल आदिको थोक तथा खुद्रा बिक्री र मर्मत ४६ थोक व्यापार (मोटर, मोटरसाइकल बाहेक) ४७ खुद्रा व्यापार (मोटर, मोटरसाइकल बाहेक) मा क्रमशः २४ प्रतिशत, १३ प्रतिशत र १८ प्रतिशत ‘ट्रेड मार्जिन’ रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट २ अर्ब ४ करोडबराबर अन्य अम्दानी भएको पाइयो र प्रति प्रतिष्ठान औसत अन्य अम्दानी ६९ हजार पाइयो। त्यसैगरी व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च १ खर्ब ३३ अर्ब र प्रति प्रतिष्ठान औसत सञ्चालन खर्च २ लाख ६४ हजार देखिएको छ ।

आन्तरिक व्यापार अन्तर्गत मुलुकभित्र हुने वस्तुको थोक तथा खुद्रा व्यापार क्षेत्रको अवस्थाबारे अध्ययन गरी आधारभूत तथ्यांक उपलब्ध गर्न केन्द्रीय तथ्यांक विभागवाट आर्थिक वर्ष २०६५/६६ मा पहिलो व्यापार सर्वेक्षण सञ्चालन गरिएको थियो भने दोस्रो सर्वेक्षण १४ वर्षपछि २०७८/७९ मा सञ्चालन गरिएको हो ।

यो सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तु खरिद तथा विक्री गर्दा हुने व्यापार अन्तर अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलब/ज्याला, पूँजी निर्माण लगायत तथ्यांक आँकलन गर्नु रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रिय स्तरको सर्वेक्षण हो । सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिक सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको सूचीलाई लगत सूचीका रूपमा प्रयोग गरिएको थियो ।

लगत सूचीमा ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान थिए । उक्त सूचीबाट स्तरीकृत नमुना छनोट विधि अवलम्बन गरी १८ हजार व्यापारिक प्रतिष्ठान छनोट गरिएको थियो जसमध्ये १५ हजार २ सय ९९ बाट मात्र तथ्यांक संकलन भएको कार्यालयले जनाएको छ ।

यस सर्वेक्षणबाट प्राप्त नतिजा तिनै १५ हजार २ सय ९९ प्रतिष्ठानबाट प्राप्त तथ्यांकका आधारमा सम्पूर्ण व्यापारिक प्रतिष्ठानका लागि अनुमान गरिएको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए ।