Breaking

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय


काठमाडौँ – सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो ।

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।

अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिले गरेको निर्णय अनुसार आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइने छ । फागुन ६ गते नै राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्करस्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने र विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घर(घरमा दीप प्रज्ज्वलन गरिनेछ ।