Breaking

नेपालको रोमाञ्चक जित, रोहितको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन, सन्दीपको खोजी, खोई खेलाडीको ६ लाख ?


काठमाडौँ – क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित हात पारेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
बिहीबार काठमाडौंमा सुरु भएको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालले रोमाञ्चक जित हात पारेको छ । नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै २ सय १७ रनमा समेटियो । कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो । जिततर्फ अघि बढेको क्यानडाको अन्तिम विकेटको रुपमा रहेका इशवरजोत सोहीलाई रोहितले बोल्ट गरे ।

त्यसअघि निकोलस कृतनले ६८ र प्रगत सिंहले ५० रन बनाउँदै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । हर्श ठाकरले ३२ र ओपनर आरोन जोनसनले २० रनको योगदान गरेका थिए । क्यानडाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका लागि डेब्यु खेलमा रिजन ढकालले एक विकेट लिए । कप्तान रोहितले सर्वाधिक ४ विकेट लिए । यो खेलमा कप्तान रोहित पौडेल नायक बने । हार उन्मुख खेलमा एकाएक कप्तान रोहितले पासा पल्टाएपछि नेपालले पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित हात पारेको हो । ललित राजवंशीले २ विकेट झारेका थिए । सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान एक एक विकेट लिए ।

कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ६२ रनको इनिङ्स खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याट्सम्यानले सो लयलाई कायम राख्न सकेनन् । आसिफ शेख र कप्तान रोहित पौडेललाई समान ८ रनमा गुमाएको नेपालले भीम सार्कीलाई १७ रनमा गुमाएको थियो । कुशल मल्लले २० र आरिफ शेखले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । पवन सरार्फले १५, सोमपाल कामीले २७, रिजन ढकालले ४ र ललित राजवंशीले १ रन बनाए ।

सूर्य तामाङ १० रनमा नटआउट रहे । नेपालको राष्ट्रिय टिमबाट सूर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका थिए । क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए । साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे । घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो । सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ ।
प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी नै गरे । जसका कारण प्रहरीले हस्तक्षेप नै गर्नु प¥यो । खेल हेर्न पुगेका केही दर्शकले सन्दीपलाई सजाय दिइएको विषयमा असन्तुष्टि जनाउँदै उनको पक्षमा नाराबाजी गरेका हुन् । केहीबेर तनावको स्थिति उत्पन्न हुँदा खेल नै रोक्नु प¥यो । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो ।

यता देशमा क्रिकेट खेलप्रति आर्कषण बढिरहेका बेला खेलाडीहरू भने विदेश पलायन हुने सम्भावना बढ्न थालेको छ । खेलप्रति राज्यको उदासिनता, बेरोजगारी, जीविकोपार्जनमा असहजता, एकातिर खेदमैदानको अभाव । सरकारले घोषणा गरेको जनही ६ लाख पुरस्कार अहिलेसम्म खेलाडीले पाउन सकेके छैनन् । यो विषयमा सरकार र सरोकारवाला निकायको समयमै ध्यान जान जरुरी देखिन्छ ।