Breaking

६ महिनामा ११६ अवैध हतियार बरामद, १३४ जना पक्राउ


काठमाडौँ – प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, ८१ भरुवा बन्दुक र २ एयर गन छन् ।
पक्राउ परेकाहरुबाट पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली समेत बरामद भएको ढकालले बताए ।

काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली बरामद भएको उनले बताए ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रिय रहने नीति अनुसार प्रहरीले अवैध हतियारविरुद्ध सुक्ष्म निगरानी गरिरहेको डीआईजी ढकाल बताउँछन् । त्यसक्रममा १३४ जना पक्राउ परेका हुन्, पक्राउ पर्नेमध्ये ६ जना विदेशी नागरिक छन् ।

विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ढकाल बताउँछन् । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ’, ढकालले भने, ‘नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको छ ।’

डीआईजी ढकालले अवैध हतियार कतै लुकाइराखेको थाहा भएका नेपाल प्रहरीलाई सूचना दिन वा सम्बन्धित व्यक्ति स्वयम्लाई पनि प्रहरीसमक्ष अवैध हतियार बुझाउन उनले आग्रह गरे ।