Breaking

मुख्यमन्त्रीको ‘लास्ट बेन्चर’ अभिव्यक्ति फिर्ता लिन कर्मचारी संगठनको माग


काठमाडौँ— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री कार्कीले केही दिनअघि कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएको र अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

मुख्यमन्त्रीको सोही अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको भन्दै नेपाल निजामती कर्मचारीको संगठनले असन्तुष्टि जनाएको हो ।

मोरङको सुन्दरहरैचामा रहेको साजिलाल माध्यमिक विद्यालयको कार्यक्रममा मुख्यमन्त्री कार्कीले दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ ।

‘म पनि क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो, फर्स्टमा बस्नेले त केबल लेख्न पढ्न मात्रै जान्यो, कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्रै जान्यो,’ मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘ऊ अहिले खरदार छ, म अहिले मुख्यमन्त्री छु ।’

उनी त्यत्तिमै रोकिएनन्, कार्यक्रममा सहभागी विद्यार्थीले हुटिङ गरेपछि कार्कीले भने, ‘कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञान केवल सर्टिफिकेटमा मात्रै हुँदैन, सर्टिफिकेटमा दिएको अंकले ज्ञानको मापन हुँदैन ।’

सर्टीफिकेटमा ज्ञानको हुने भए चाणक्यको अर्थशास्त्र फेल हुने उनको टिप्पणी थियो ।

बिहीबार नेपाल निजामती कर्मचारी संगठन मोरङले विज्ञप्ति निकालेर मुख्यमन्त्रीको अभिव्यक्तिले राष्ट्रसेवकलाई दुःखी बनाएको बताए ।

‘योग्यता प्रणालीमा विश्वास गर्नेहरु प्रतिको मुख्यमन्त्रीज्यूको कोरा, अपरिपक्क, हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरुको शीर निहुरिएको छ’, कर्मचारी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्रीज्यूले व्यक्त गर्नुभएको विचार आफैंमा अपरिपक्व उन्मादपूर्ण कोरा अभिव्यक्ति हो ।’

मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ भन्दै संगठनले भनेको छ, ‘सबै तहका राष्ट्रसेवकहरु कुनै न कुनै तहको प्रतिस्पर्धापूर्ण परीक्षामा आफूलाई उत्कृष्ट सावित गरेर आएका हुन् ।’

निजामती कर्मचारी संगठनले मुख्यमन्त्रीले भावावेशमा आएर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै फिर्ता लिएर राष्ट्रसेवकहरुको आत्मसम्मानमा पुगेको चोटप्रति क्षमा याचना गर्न आग्रह गरेको छ ।