Breaking

कहाँ हरायो NCELL काण्ड ? सुनको मालिक खोई ? काण्ड उधिन्नेको मति टुंग्याउँदा किन भ्रष्ट ?(भिडियोसहित)


काठमाडौँ— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो कार्याकाल प्रधानमन्त्रीको कुर्सीमा छन् । पहिलो र दोस्रो कार्यकालभन्दा फरक काम गर्ने दाबी गरेका प्रचण्ड काण्डैकाण्डमा फसेका छन् । माओवादी र गठबन्धनका नेतालाई जोगाएर प्रतिपक्ष दलका नेतालाई फसाउन खोजेको आरोप पनि लागेको छ ।

तेस्रो कार्यकाल सरकारको नेतृत्व सुरु गर्दा पु्ष्पकमल दाहाल प्रचण्डले तामझामका साथ काम गरेका थिए । तर, बिस्तारै नेपाली उखान जस्तै किन चाउरिस मरिच आफ्नै रागले भनेजस्तै प्रचण्ड सरकार पनि आफ्नै रापले चौरिन पुगेको छ । सरकार गठनको सुरूवाती चरणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मै हुँ भनेका नेताहरूलाई जेलको यात्रा गराएर आम जनताबाट स्याबासी लिएका प्रचण्डले बिस्तारै सोही प्रकरणमा आफ्नै वरपरको नाम जोडिन थालेपछि समिति गठनको नाममा थामथुम पार्न सफल भए । ललिता निवास जग्गा प्रकरणमा आफ्नै गठबन्धनका सहयात्री माधवकुमार नेपाल र आफूलाई निर्वाचन क्षेत्र नै सुम्पिने जनयुद्धका सहयात्री डाक्टर बाबुराम भट्टराईको नाम जोडिएपछि प्रचण्ड नेतृत्वको सरकार जोगाउन लागेको आरोप छ । ललिता निवास प्रकरणमा जनताको आँखामा छारो हाल्नका लागि बाबुराम र माधव नेपाललाई जोगाउँदै केही व्यापारीलाई केही दिनको लागि जेलको यात्रा गराउँदै उन्मुक्ति दिने काम भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलको हावा खाइरहेका कांग्रेस नेता बालकृष्ण खानलाई उन्मुक्ति दिएपछि एमालेका नेताहरूले गठबन्धन सरकारले आफ्नालाई छोडेर एमालेका नेतामाथि विभेद गरेको आरोप लगाएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले एक क्विन्टल सुन प्रकरणमा पनि उच्चस्तरीय समिति गठनको नाममा पन्छाउने काम गरेको छ । तर, गृहमन्त्री नारायणकाली श्रेष्ठले भने आफूहरूको काम जेलमा कोच्ने भएको तर अदालतले छाडिदिने गरेको भन्दै कमजोरी ढाकछोप गर्न अदालतमाथि दोष थुपारीरहेका छन् । आफूहरूले कोही पनि सोझा सिधा जनतालाई नफसाउने र गलत गर्नेलाई नछाड्ने उनको दाबी छ ।

प्रचण्ड सरकार नै हल्लिने गरी चर्चामा आएको एनसेल प्रकरणमा समितिले कमजोरी देखाउँदा पनि सरकार कानमा तेल हालेर बसेको छ । टेरामक्स प्रकरणमा पनि बालवाला मन्त्रीलाई नै अख्तियारले बयानमा बोलायो । तर, प्रधानमन्त्री कानमा तेल हालेर बसेका छन् । सरकारमाथि जनआक्रोश चुलिदो छ । पहुँचवालाहरूको प्रभावमा अदालत पनि परेको कानुन व्यवसायीहरू दाबी गर्छन ।

सरकारी जग्गा अनियमितता गरेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद अर्बपति बिनोद चौधरीका भाइ अरूण चौधरीलाई पक्राउको नाटक गरेको छ । अदालतले चौधरीलाई छाड्ने आदेश दिएपछि सरकार सस्तो लोकप्रियतामा रमाएको प्रमाणित भएको छ । खोलिएका केही फाइल जनताको आँखामा छारो हाल्न मात्रै हो भन्नेजस्तो देखिएको छ । प्रचण्डको तेस्रो कार्यकाल काण्डैकाण्डमा बित्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरू दाबी गर्छन ।