काठमाडौँ— सहकारीको रकम हिनामिना गरेको आरोपमा रविलगायत १८ जनाविरुद्ध प्रहरीमा जाहेरी परेसँगै रवि फेरि झमेलामा फसेका छन् । परिवर्तनको मुद्दा बोकेर विकल्प भन्दै राजनीतिमा होमिएका रवि पटक पटक कानुनी कठघरामा उभिरहनु पर्दा उनका लागि हैरानी बढिरहेको छ ।
सहकारीहरूले बचतकर्ताको रकम खाएर भागेपछि अहिले देशैभरका नागरिकहरू त्यसबाट पीडित छन् । आफूले परिश्रम गरेको रकम बचाएर सहाकारीमा जम्मा गरेका बचतकर्ताले अहिले तिनै सहकारीका कारण सास्ती व्यहोर्नु परिरहेको छ । सहकारीका सञ्चालक नै रकम हिनामिना गरी फरार हुने घटना बढ्दै जाँदा यो समस्याले विकराल रुप लिँदै गएको हो । त्यसमा पनि परिवर्तनको मुद्दा बोकेर सञ्चारकर्मबाट विश्राम लिएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम सहकारीको रकम हिनामिना गर्नेहरुको सूचीमा परेपछि अहिले यो राजनीतिक मुद्दासमेत बनेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले सोमबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी दिए । पोखरा महानगरपालिकाको जाहेरीका आधारमा यसअघि नै १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको भए पनि सोमबार फेरि यही विषयमा पीडितहरू थप सूचनासहित जिल्ला प्रहरी कार्यालय कास्की पुगेपछि प्रहरीले उनीहरूविरुद्ध पूरक जाहेरी लिएको हो । जाहेरी परेपछि विभित्र झमेलाबाट उठ्दै गरेका लामिछाने फेरि अर्को झन्झटमा फसेका छन् । रविविरुद्ध जाहेरी परेर पूरक अनुशन्धान हुने भएपछि सहकारी पीडितहरुले दिएको उजुरीको प्रारम्भिक छानविन गरि सीआईबीलाई सुम्पिने र पीडितको पक्षमा निर्णय गर्दै दोषीलाई कारबाही गर्न सरकारले निर्देशनसमेत दिइसकेको छ ।
रवि पार्टीको सभापति हुँदै राजनीतिमा आइसकेपछि विवादबाट टाढा हुनै सकेका छैनन् । कहिले नागरिकता र राहदानीको मुद्दाले विवादमा मुछिने गरेका छन् भने कहिले बहुविवाह मुद्दामा तानिने गरेका छन् । यसबाट बल्लतल्त तंग्रिन खोजेका रवि अब फेरि सहकारीको रकम अपचलन गरेको मुद्दामा कानुनी कठघरामा उभिनु पर्ने अवस्थामा पुगेका छन् । दोषी भए आफ्नो भागमा परेको रकम तिर्न पाउँ भन्दै आएका रविलाई यस्ता मुद्दाले तनाव दिएको उनको शरीरको हाउभाउले प्रष्ट देखिन्छ । गलत भए डुबाउने वा बगाउने, सही भए पखाल्ने दुईवटा काम पानीले गर्ने भन्दै आफूमाथि लाग्ने गरेका आरोप र लाञ्छनाले आक्रोशितभन्दा पनि प्रष्ट पार्ने मौका मिलेको उनले बताउने गरेका छन् । उनले सहकारी, वित्तलगायतका जनजीविकाका सवालमा आफू सधँै सरकारलाई सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेका छन् ।
पटक–पटक राजनीतिक सौदाबाजीको सिकार भएका रवि फेरि पनि सहकारी विवादको सिकार नबन्ला भत्र सकिने अवस्था छैन । एउटा झमेलाबाट मुक्त हुन पाएको छैन अर्काे संकट उनलाई आइपर्ने गरेको छ । यता, विगत लामै समयदेखि नोकझोक चल्दै आएका रवि र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच फेरि सहकारी मुद्दामा भिड्ने संकेत देखिएको छ । संसदीय समितिहरूमा पनि आमने–सामने हुँदा एकअर्काप्रति खनिने यी दुईको व्यक्तिगत टसल सहकारीको मुद्दामा पनि देखिने शंका गर्ने ठाउँ प्रशस्त छ । यद्यपि, रवि सहकारीको मुद्दामा दोषी होलान् या नहोलान् त्यो अनुशन्धानको पाटो हो तर, फेरि एकचोटी भने उनी कानुनको कठघरामा उभिनु पर्ने अवस्थामा आएका छन् । विभिन्न विवादको सामना गरेर त्यसबाट चोखिएका रवि सहकारी प्रकरणबाट कसरी मुक्ति पाउँछन् ? त्यो भने केही समय कुर्नै पर्नेहुन्छ । विवादको पर्याय बन्नबाट रविले यस प्रकरणलाई कसरी सामना गर्छन् ? सबैको प्रतिक्षाको विषय बनेको छ ।


प्रतिक्रिया