Breaking

अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस


काठमाडौँ — ६० किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ । रोल्पा घर भएकी अमला विरुद्ध डिफ्युजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता (प्रहरी उपरीक्षक) नवराज अधिकारीले बताए ।

हङकङबाट काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध इन्टरपोलले ५ फेब्रुअरीमा डिफ्युजन जारी गरेको हो । अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।

अमला ठमेलस्थित ‘होटेल भियना’ को सञ्चालिका हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् ।