Breaking

१३ महिनासम्म भएन एसपीको नियमित सरुवा, बढुवा पनि अलपत्र


काठमाडौं — सरुवा अवधि पुगेका विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा अझै हुन सकेको छैन । प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको छ । तर, ६ जिल्ला प्रहरी प्रमुखले कमान्ड गरेको १३ महिना सकिन लाग्दा पनि उनीहरूको सरुवा हुन सकेको छैन ।

झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो । उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो ।

त्यस्तै, मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाको एसपीले समेत कमान्ड सम्हालेको एकवर्ष पूरा भएको छ ।

यी जिल्लाहरूमा गत वर्षको १९ पुसबाट एसपीहरूले कमान्ड सम्हालेका थिए । तर, उनीहरूको नियमित सरुवा रोकिएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, “कमान्ड सम्हालेका प्रहरी अधिकारीको सरुवा क्यालेन्डरअनुसार नै गर्नुपर्छ भनेर हामी लागि परेका थियौं । तर, गृहमन्त्रीकै कारण ढिलाइ भइरहेको छ ।”

प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सृजना गरेपछि सरुवा नै अवरुद्ध भएको हो ।

प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक ९आईजीपी०लाई दिइएको छ । तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन् । कार्यालयले सकेसम्म यही साता एसपीको सरुवा निकाल्ने गरी गृहकार्य भएको दाबी गरेको छ ।

बढुवा पनि रोकियो
प्रहरी प्रधान कार्यायलयलाई एसपीमा बढुवा गर्न पनि सकस परेको छ । एसपीको आठ रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन् । उनीहरू सबैले एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए ।

उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् । १२ डीएसपीमध्येबाट अहिले आठजना एसपीमा बढुवा हुनेछन् ।

गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको थियो । एक साता अघिमात्रै अर्का एसपी रमेश बस्नेत समेत एसएसपीमा बढुवा भएसँगै रिक्त सख्या आठ पुगेको हो ।

आठजना बढुवा हुँदा अझै चारजना छुट्ने भएपछि प्रहरी प्रधान कार्यालयलाई सकस परेको हो । १२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा गर्ने तयारी गरेको छ ।

एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ । एसएसपीदेखि माथिल्लो तहको बढुवा गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिले गर्ने गर्छ ।