Breaking

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त


काठमाडौं — संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले आज नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।

सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले जानकारी दिए ।
गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।

यसबीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए । माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधि सभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।