Breaking

प्रिबजेट छलफलबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने


काठमाडौं— सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताए ।

‘सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकाबारे छलफल गराउँदै छ । त्यो छलफल गर्नुभन्दा अघि नै हाम्रो दलका सबै मान्य सदस्यहरुलाई त्यसको बारेमा राम्रो स्पष्ट बनाउनका लागि अन्तर्क्रियासहितको प्रशिक्षण कार्यक्रम छन् । फागुनको १४ भन्दाअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ’ उनले भने ।

आजको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिएका थिए । ‘विषयगत समिति, संयुक्त समिति र सभाहरुमा राम्रो तयारीका साथ प्रस्तुत हुन र खासगरी सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायका विषयमा आवाज उठाउन सदस्यहरुलाई निर्देशन दिनुभयो’, प्रमुख सचेतक पाण्डेले भने ।