Breaking

ग्याल्पो लोसार गुथुक साँझ भव्य रूपमा आयोजना हुँदै, यस्तो छ विशेष आकर्षण

के हो गुथुक ?


काठमाडौँ – बौद्ध धर्मावलम्बीहरूको चाड नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रमसहित मनाइने भएको छ ।

लोसारको अवसरमा माघ २६ र २७ गते हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले काठमाडौँको ह्यात चौर चुच्चेपाटीमा ‘लोसार गुथुक साँझ’ विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । धार्मिक मान्यताअनुरूप ‘ह्ये लो’ (खारायो वर्ष) लाई विदा गरी ‘डुक लो’ ( गरूड वर्ष) २१५१ औँ सिङ फोक डुक लो भव्य रूपमा मनाउन लागिएको संस्थाक महासचिव छोटी शेर्पाले जानकारी दिनुभयो ।
‘लोसार गुथुक साँझ’को अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बृहत श्याब्रु नृत्य प्रतियोगिता, पहिलो हास्य कलाकार साम्दे शेर्पाको स्मृतिमा वत्तृत्वकला र साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण तथा संस्कृतिक कार्यक्रम यो वर्ष भव्य रूपमा आयोजना गर्न लागिएको संस्थाक अध्यक्ष आङ डोमा शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

‘गुथुक साँझ’ को अवसरमा ख्यातिप्राप्त कलाकारहरू वरिष्ठ गायक लाक्पा शेर्पा, कुन्ती मोक्तान, चर्चित गायिका मेलिना राई, सुमधुर स्वरकी धनी गायिका सुबानी मोक्तान, हास्यकलाकार पासाङ टी शेर्पा, गायक छोङबा शेर्पा, लाक्पा तेन्जी शेर्पा, गायिका लमु शेर्पा नादीङ गायिका पाल्मु शेर्पा, ‘डान्सिङ स्टार नेपाल’ विजेता छिरिङ शेर्पा र हास्य कलाकार ङिमा गेलु शेर्पाको बेजोड प्रस्तुतिको साथमा नेपालको पहिलो डिजे तेन्जिङको डिजेसेसनसमेत रहेको शेर्पाले बताउनुभयो ।

बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपीले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिवर्तन हुँदा बौद्ध धर्मावलम्बीले नयाँ वर्ष ग्याल्पो लोसार मनाउने गर्छन् ।

शेर्पा, तामाङ, भोटे, गुरूङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटा लोसार मनाउने गर्छन् । लोसारमा छेमार र छेयाङफुद सजाउने गरिन्छ । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खाप्से र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समय लोसार मनाउने गरिन्छ ।

बर्सेनि १२ लो (चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, खरायो, गरूङ, सर्प, घोडा, भेडा र बाँदर) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरूवात हुन्छ । तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ ।

महायानी सम्प्रदायमा साम्बोटा लिपीले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ । हिमाली क्षेत्रका बासिन्दाले लोसार (नयाँ वर्ष) लागेको शुभ संकेतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन् ।

सरकारी पात्रो अनुसार ग्याल्पो लोसा फागुन २८ गते भएतापनि तिथि गडबड भएका कारण यस वर्ष २१५१ औँ सिङ फोक डुक लो ग्याल्पो लोसार माघ २७ गते सोनाम ल्होसारसँगै मनाउन लागेको हो । शेर्पा समुदायले लोसारको तिथिमिति तय गर्ने समयमा सम्बन्धित समुदायको व्यक्तिहरूलाई सहभागी नगराई मिति तय गर्दा लोसारको मिति सधैं गलत हुने भएकोमा आक्रोश व्यक्त गरिरहेका छन् । शेर्पा समुदायले लोसारको मिति तय गर्ने समयमा सबै समुदायलाई सहभागी गराउनुपर्ने माग गर्दै आएका छन् ।
के हो गुथुक ?

लोसार शुरु हुनु दुई दिन अघि, अर्थात १२ औँ महिनाको औँसीको अघिल्लो दिन यस वर्षको माघ २६ गते वा ङिश्यु गु कृष्णपक्षको चर्तुदसीका दिन आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गरि निस्किएको फोहोर र पुराना लुगा कपडा केहि सिक्का नुन खुर्सानी नाङलोमा राखि तीन वटा बाटोको संगम भएको स्थानमा लागि फाल्दा दशाग्रह जाने र घरमा शुभ–लक्षण भित्रने विश्वास गरिन्छ । साथै त्यसदिन गुम्बाहरूमा लामाद्धारा पूजापाठ गर्ने चलन छ । त्यस दिनको साँझमा विशेष प्रकारको परिकार गुथक खाने चलन छ ।

‘गुथुक’ को शाव्दिक अर्थ गु नौ थुक मिश्रण अर्थात नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरि बनाइएको एक प्रकारको खाना हो । यो परिकारमा नौ प्रकारको खाद्यवस्तु विभिन्न आकृतिमा र विभिन्न प्रतिकका रुपमा बनाइएको हुन्छ । जसलाई नयाँ वर्षको भाग्य परिक्षणका रुपमा लिइन्छ । जसको भागमा जुन प्रतीक पर्छ सोहीअनुसार फल मिल्छ भन्ने मान्यता छ । जस्तै सूर्यको प्रतीमा तेज, चन्द्रमाको प्रतीकमा प्रसिद्धी, तोर्माको प्रतीकमा इमान्दार, धर्मशास्त्रको ठेलीको प्रतीकमा विवेकशील, चारपाटे आशनको प्रतीकमा आन्नदित हुने विश्वास गरिन्छ ।

यस्तै, ताराको प्रतीकमा छुच्चो, खुर्सानीको प्रतीकमा चलाख, कोइलाको प्रतीकमा कालोमन, डमरूको प्रतीकमा चञ्चल हुने विश्वासका साथ मनोरञ्जनपूर्वक पुरानो वर्षलाई बिदा गर्ने चलन छ ।

भोलिपल्ट नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरूङ्गी अथवा कोही नउठिसकेको समयमा २÷३ बजे उठेर पधेरामा गई हातमुख धोइ पानी लिन जाने र धारामा पूजा गरी करक्याङ (घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पूजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ ।

त्यसपछि घरका ठुलावडाबाट आशिर्वाद लिइ चिया, खप्सालगायत प्रसाद खाने र विशेषगरी ‘छ्याङगुल’ (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । लोसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पूजा पनि गर्ने गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू छिमार, खप्सेलगायतका प्रसाद भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने, नभए पनि सफा लुगा लगाउने र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि हेरि घरको धुरी, आँगन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामनासहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ ।

लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने हुन्छ । परिवारबीच लोसार मनाईसकेपछि छिमेकीलाई घरमा बोलाएर शहरी क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि लोसार मनाउने गरिन्छ ।

के हो छिमार र खप्से ?

शेर्पा समुदायले विशेष कार्य गर्दा विशेष रुपमा ‘छिमार’ बनाइन्छ । छिमार भन्नाले सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाइएको एक प्रकरको प्रसाद हो । लोसारमा खाप्से अर्थात् रोटीको समेत विशेष महत्व रहेको पाइन्छ ।