Breaking

धादिङ अधिवेशनमा कुटाकुट गर्ने नेतालाई अध्यक्ष ओलीले काठमाडौँ बोलाए


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटी धादिङको अधिवेशनमा भएको विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई काठमाडौँ बोलाएका छन् ।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौँ बोलाएपछि सोमबार बिहान ८ बजेसम्म प्रतिनिधिहरुलाई अधिवेशनस्थलमै बस्न भनेर नेताहरु काठमाडौँ हिँडेका छन् । अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुलाई काठमाडौँ बोलाएका हुन् ।

एमाले धादिङको अधिवेशनमा कुटाकुट हुँदा एक जनाको हात भाँचिएको छ । असहज स्थिति भएपछि जिल्ला अधिवेशन नै स्थगित गरिएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार विज्ञप्ति जारी गरेर बताउनुभएको छ । अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।

यही माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा हात हालाहाल भएको थियो । यसै क्रममा एमाले कार्यकर्ता सन्तोष खनालले हात भाँचिएको छ । यसैबीच, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताउनुभएको छ ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताउनुभएको हो । अधिवेशन स्थगित भएको भन्दै प्रदेश अध्यक्षले विज्ञप्ति निकालेकोमा जिल्ला अध्यक्ष त्रिपाठीले आपत्ति जनाउनुभएको छ ।